देशलाई कहाँ संकट परेको छ, प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?

admin

काठमाडौं, १७ चैत्र : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो देशमा कुनै संकट नरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले क्लबले मिशन पत्रकारिताभन्दा पनि निश्पक्ष र स्वच्छ पत्रकारिता गरेको विश्वास दिलाए ।

उनले नेपालमा पछिल्लो समय केहीले मिशन पत्रकारिता गरिरहेको भन्दै आलोचना गरे । साँचो पत्रकारिताको अभ्यास क्लबले गरेको उनले स्पष्ट पारे । उनले एकता भन्ने शब्दको हुर्मत प्रज्ञा भवनको डबलीमा बसेर लिईएको भन्दै आलोचना गरे । उनले संघीयता संकटमा नपरेको दावी समेत गरे ।

उनले भने, ‘संघीयतालाई के समस्या पर्यो ? केही समस्या अनुभुति र फिङिसबाहेक कुनैपनि प्रदेशलाई केन्द्रबाट बजेटमा कन्भिन्स गरिएको छैन ।’ उनले केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको हुनसक्ने भएपनि देशलाई कुनै संकट नपरेको दावी गरे । ‘देशलाई कहाँ संकट परेको छ ? तपाईहरुलाई के मा संकट पर्यो ? के भएछ ? केही विरामी देख्दिनँ । चुनाव भएर संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्छ भन्ने ?’ उनले प्रश्न गरे ।

उनले ११ फागुनमा भएको निर्णय ठिक तर फागुन २३ मा १२ दिनपछि अर्को फैसला आउदा अदालत कामै नलाग्ने भयो भयो भन्नु गलत रहेको टिप्पणी गरे । उनले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुने भन्दै त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ भन्दै प्रश्न गरे ।

उनले सम्बोधनको क्रममा भने, ‘चुनाव भएर लोकतन्त्रलाई खतरामा पार्छ भने अब २० महिनामा त चुनाव नै हुन्छ नि । तालसुरमा कुरा गर्नुपर्छ मान्छेले ।’ उनले प्रतिनिधिसभा विघटनको सिफारिश अदालतले बदर गरेको उल्लेख गर्दै आफू कुनै आवेश र उत्तेजनामा नआएको स्मरण गराए । उनले अदालतको फैसलालाई आफूहरुले मान्ने र कार्यान्वयन गर्ने पनि सुनाए ।

संसद् पूनःस्थापना हुँदा अदालतलाई गुणगान गर्दै अविर जात्रा गरेको भन्दै प्रचण्ड र माधव नेपालतर्फ ईंगित गर्दै पछि उनीहरुले नै फेरि अदालतको आदेशको आलोचना गरेको पनि उनले टिप्पणी गरे । सोहीक्रममा प्रधानमन्त्री ओलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा पनि गरेका छन् ।

‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भने । ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने जिकिर गरेका छन् ।

केही व्यक्तिहरुले देशको राजनीतिलाई आफ्नो निहित स्वार्थको लागि धमिल्याउन खोजेको आरोप लगाउँदै उनले ‘देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ भन्दै आक्रोश समेत पोखे । उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? अनि मान्छेहरुले भन्ने गरेका छन्, आधाआधा भन्याथ्यो खै आधा ? अनि त्यो आधाआधा भन्ने कागज प्रचण्डले बीचमै कार्यकारी चाहियो भनेर लेखाएर ५ वर्ष तपाईँ गर्नुस् भनेर अर्को कागज गरेको होइन ?’

उनले प्रचण्ड सहमतिअनुसार अघि नबढ्दा समस्या भएको पनि दावी गरे । उनले आफूसँगै महाधिवेशनमा हारेका एमाले नेता माधव कुमार नेपालले बीचमै अध्यक्ष चाहियो भनेर बखेडा झिकेको पनि बताए । ‘हारेको मान्छे मलाई चाहियो मलाई चाहियो रे !’, उनले भने, ‘माधव नेपाललाई मैले तेस्रो अध्यक्ष बन्नुस् पनि भनेँ, तपाईँ त ठूलो मान्छे भनेर कसले उचालिदिएछन्, तेस्रो अध्यक्ष खान्न भनिदिए ।’

उनले सडकमा भने प्रचण्डभन्दा पछिको अध्यक्ष भएर माधव नेपाल बसेको भन्दै व्यङ्ग्य गरे । प्रधानमन्त्री ओलीले अदालतलाई मजाकका रुपमा नलिन नेताहरुलाई सुझाव दिएका छन् । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै फागुन २३ को सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएर पुनरावलोकनमा गएर अदालतलाई मजाकका रुपमा लिएको बताएका हुन् ।

‘आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो ? दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्नै भइसके । डबलीमा बोल्ने मान्छेसँग एकता ? सहि कुरा गर्नुपर्छ नि एकता गर्न खोजेको तर सिध्याउनु पर्छ भन्ने,’ प्रधानमन्त्री ओलीको आरोप छ । उनले गत शनिबार प्रज्ञा डबलीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले दिएको अभिव्यक्ति र बुद्धिजीवीको भुमिकाको चर्को आलोचना गरे ।

‘आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो ? दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्नै भइसके । डबलीमा बोल्ने मान्छेसँग एकता ? सहि कुरा गर्नुपर्छ नि एकता गर्न खोजेको तर सिध्याउनु पर्छ भन्ने,’ प्रधानमन्त्री ओलीको आरोप छ । उनले गत शनिबार प्रज्ञा डबलीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले दिएको अभिव्यक्ति र बुद्धिजीवीको भुमिकाको चर्को आलोचना गरे ।

उनले भने, ‘माकुल भएका छन् डेमोक्रेसीहरु । डेमोक्रेसीहरुको अहिलेको मुख्य काम नै केपी ओली हटाउनु हो । किन भने देश विकास गरिसक्यो केपी ओलीले यस्तो गर्न दिनुहुन्छ ?’, महन्थ ठाकुरको नाम लिदै उनले भने, ‘ठुला हाइवे बनाइसक्यो, तुइन हटाइसक्यो, तराईका समस्या समाधान गरिसक्यो त्यो गर्न दिनुहुन्छ ? विप्लवका समस्या, सिके राउत हाइवे बनाइसक्यो । मेलम्चीको पानी आइसक्यो, दिनमा दश किलोमिटर बाटो पिच हुनथालिस्क्यो अनि छिटो हटाउनुपरेन, हटाउनुपर्यो नि यार !’

त्यस्तै उनले प्रचण्ड माधवहरूले गरेको राजनीति नै नभएको पनि बताए । ‘उहाँहरुको यो पोलिटिक्स होइन । देशप्रति इमान्दार हुन सक्नुपर्यो’, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘वाक स्वतन्त्रता प्रकाशन स्वतन्त्रता भएन रे, कसैले नथुनेका मुख आफै टेप लाएर थुन्ने अनि ? त्यसपछि मनपरी बोल्न पाइएको छ अनि कहाँनेर भएन वाक स्वतन्त्रता ?’

प्रधानमन्त्री ओलीले प्राध्यापक, बुद्धिजीवी र सञ्चारमाध्यमको भूमिकालाई लिएर चर्को विरोध गरेका छन् । उनले देशका सबै ठाउँमा सडक पुगेको, शिक्षा ,स्वास्थ्य खानेपानीलगायतका सुविधा पुगेको र नागरिक सुखी हुँदै गएको तर सञ्चारमाध्यम र बुद्धिजीवीले सरकारका काम देखी नसहेको आरोप लगाए ।

नेपालमा केही प्राध्यापक, बुद्धिजीवी, नागरिक अगुवा र सञ्चारमाध्यमले राष्ट्रिय एकता बिगार्ने र देश समृद्ध बनाउने अभियानको विरोध गरेको भन्दै ओलीले निकै आलोचना गरे । अहिले एकथरीले देश सङ्कटमा परेको बताइरहेको तर देशलाई आफूले सङ्कटमा पर्न नदिएको भन्दै ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई बाहेक अरू कसैलाई पनि सङ्कट नपरेको बताए ।

प्रचण्डसँग आधा-आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भए पनि प्रचण्डले कार्यकारी अध्यक्ष मागेको र आधा समय प्रधानमन्त्री नबन्ने बताएपछि आफूले नछाडेको ओलीको दाबी छ । माधवकुमार नेपाललाई पदको लोभी भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सडकबाट आफूलाई निकालेर केटाकेटी खेल खेलेको र अहिले त्यसको परिणाम देखिएको बताए ।

‘मलाई सधैँ प्रधानमन्त्रीमै बस्नु छैन तर एकाध व्यक्तिलाई पदमा बस्ने हतारो र स्वार्थका लागि पद छाड्दिनँ, उनीहरूको व्यक्तिगत स्वार्थको भूमरीमा देशलाई पार्न दिन्नँ’, ओलीले भने ।

प्रतिक्रिया