कोरोना भाइरस चिनियाँ ल्याबबाटै फैलिएको हो ?

admin

काठमाडौं, १८ चैत : विश्व स्वास्थ्य संगठनले चिनियाँ ल्याबबाट नै कोरोना भाइरस फैलिएको हो भन्ने निष्कर्षमा पुग्न थप अनुसन्धानको आवश्यकता भएको जनाएको छ । ‘कोभिड १९ चिनियाँ प्रयोगशालाबाट निस्केको भाइरस नै हो भनेर भन्न अझै थप अध्ययनको जरुरी छ’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले भने, ‘चिनियाँ प्रयोगशालावाला सिद्धान्त साँचो हुने सम्भावना सबैभन्दा कम छ ।’

चीनले निरन्तर रुपमै आफ्नो प्रयोगशालाबाट कोरोनाको भाइरस फैलिएको भन्ने आरोपलाई गलत ठहराउँदै आएको बीबीसीले जनाएको छ । चीनको वुहान शहरमा २०१९ को डिसेम्बरमा कोरोना भाइरस संक्रमणको पहिलो घटनाको आधिकारिक पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनको विशेषज्ञ टोलीले १४ जनवरी देखि १० फेब्रुअरीसम्म चीनको वुहान शहरमा गएर कोरोना भाइरसको अनुसन्धान गरेको थियो । त्यही टिमले मंगलबार एक रिपोर्ट जारी गर्दै चीनको तर्फबाट विशेषज्ञको टोलीलाई आवश्यक तथ्यांक नमिलेको उल्लेख गरेको छ । विशेषज्ञ टोलीका अनुसार कोरोना भाइरस चमेरोबाट मान्छेमा सरेको हुनसक्ने सम्भावना धेरै छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुखले चिनियाँ प्रयोगशालाबाट भाइरस फैलिएको कुरालाई सिधै नकारेका छैनन् । तर त्यही हो भनेर एकिन गर्नको लागि थप अनुसन्धानको आवश्यकता पर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनको यो भनाइमा चीनले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया