नेता शर्माको प्रश्न : अदालतले जे पायो त्यही गर्न पाइन्छ ?

admin

काठमाडौं, १८ चैत : नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पार्टी फुटाउने र जुटाउने काम सर्वोच्च अदालतको नरहेको बताएका छन् । माग दाबी गरेकोभन्दा बाहिर गएर फैसला भएकाले त्यसको पुनरावलोकनका लागि आफूहरुले सर्वोच्च अदालतमा निदेवन दिएको उनले बताए ।

‘माग दाबीभन्दा बाहिर गएर पार्टी विभाजन गर्ने उद्देश्यले फैसला आएकोले पुनरावलोकनका लागि निवेदन दिएका हौँ’ बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने । फैसलाको ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन पाइने कानुनी व्यवस्था अनुसार आफूहरुले सर्वोच्चमा निवेदन दिएको भन्दै उनले अदालत पनि संविधानभन्दा बाहिर गएर काम गर्न नसक्ने बताए ।

पार्टी बनाउने र नबनाउने एवं एकता गर्ने र नगर्ने भन्ने कुरा दुई राजनीतिक दलमा भर पर्ने भन्दै उहाँले आफूहरुको विषयलाई हस्तक्षप गर्ने काम अदालतले गरेको आरोप समेत लगाएका छन् । यस्ता हस्तक्षपहरु भोलिका दिनमा पनि अदालतलहरुले गर्न नपाउन् भनेर आफूहरुले पुनरावोलकनको निवेदन दर्ता गराएको उनको भनाइ छ ।

उनले प्रश्न गर्दै भने, ‘जे पायो त्यही गर्न पाइन्छ ? हाम्रो पार्टी फुटाउन मिल्छ ? हाम्रो पार्टी फुटाउने र जुटाउने कुरा सर्वोच्चको क्षेत्राधिकार भित्र पर्छ ?’ यस्तै उनले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि नहुने भन्दै वातावरण बन्यो भने केपी शर्मा ओलीसँग फेरि कुनै न कुनै ठाउँमा एकता हुन सक्ने बताए ।

प्रतिक्रिया