नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने

admin

काठमाडौं, १८ चैत : विश्व बैंकले आउँदो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।

दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधवार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/०२२ मा बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

‘आउँदो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ’, प्रतिवेदनमा भनिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा भने नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।

कोभिड-१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजस्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया