छिन्नभिन्न हुन नदिइ कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ : माधव नेपाल

admin

काठमाडौं, १८ चैत : नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्‍याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा सङ्घ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा लागेको बताएका हुन् ।

उनले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धराशायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्‍याउन नदिने सङ्कल्पसमेत गरे । त्यसका लागि देशैभरका कम्युनिस्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरू पार्टीको एकता, कम्युनिस्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरूप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘हामी आन्दोलनलाई नयाँ उचाइमा नयाँ शिराबाट उठाउन चाहन्छौँ । कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौँ, कम्युनिस्ट आन्दोलनलाई धाराशायी हुन दिने छैनौँ, कम्युनिस्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्‍याउन दिने छैनौँ, यो हाम्रो सङ्कल्प हो । यही चैत ४ र ५ गते साढे चार हजार देखि पाँच हजार जनासम्मको उपस्थितिमा भएको भेलाले कम्युनिस्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरूप दिने र हामी आमनागरिकको आकर्षणको केन्द्र बनाएर नागरिकको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरि जीवन्त गराउने पक्षमा घोषणा गरेको छ ।’

आफूहरूको विचार मार्क्सवाद र लेनिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको नेता नेपालले बताए । आफूहरू सामाजिक न्यायसहितको आर्थिक रूपान्तरणको पक्षमा रहेको उनले बताए । विचार, सङ्गठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि नेता नेपालले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया