महाेत्तरी : महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरबाट हराएर भारतमा भेटिएका सात जना बालिका तथा किशोरीलाई बुधवार (आजै) राति नेपाल ल्याइने भएको छ ।
हराएका बालिका भारतमा फेला परेपछि नेपाल प्रहरी र अभिभावक भारतको सितामढी गएका छन् । बालिका र किशाेरीलाई बिहीवार (भोलि) परिवारको जिम्मा लगाइने भङ्गाहा नगरपालिकाका मेयर संजिवकुमार साहले जानकारी दिनुभयो ।
मङ्गलवार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी हराएका थिए । उनीहरू भागेका हुन् या कसैले भगाएको हो भन्नेबारे खुलेको छैन ।
मङ्गलवार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।