बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज बस्दै

admin

काठमाडौं, १८ चैत : बंगालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ । अपराह्न ३ बजे भर्चुअल रुपमा बस्ने बैठकको आयोजना श्रीलंकाले गर्ने भएको छ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नुहुने छ ।

उहाँसँगै विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चअधिकारी सहभागी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भर्चुअल रूपमा बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको थियो । बैठकले आज भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बंगाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो । यस क्षेत्रमा शिक्षामा सबै जनताको पहुँच पु¥याउने, भौगोलिक आबद्धतालाई बलियो बनाउने, प्राकृतिक र मानवीय स्रोत साधनको आदानप्रदान तथा बहुसांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बढावा दिँदै विकास र समृद्धिमा रुपान्तरण गर्ने विषयमा साझा अवधारणा प्रस्तुत गरिएको थियो ।

आजको बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बिमस्टेकका १४ वटा प्राथमिकताका कार्य क्षेत्र रहेका छन् ।

जसमा व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतंकवाद र संगठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन रहेका छन् ।

प्रतिक्रिया