सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि एमाले पार्टी सदस्यबाट निलम्बन

admin

काठमाडौं, १९ चैत : नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

‘स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएका कारण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ,’ उनले भने । अध्यक्ष ओलीले पार्टी विरोधि गतिविधी संचालन गरेको भन्दै उनीहरु चारै जनालाई स्पष्टिकरण मागेका थिए ।

यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको थियो । ओलीले चैत ८ गते वरिष्ठ नेता नेपालसहित ४ जनालाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

नेपाल र रावलले उक्त स्पष्टीकरणको जवाफ चैत १२ गते नै दिएका थिए । तर उनीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीले चैत १६ गते दुवैलाई पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरेका थिए । भुसाल र पाण्डेले भने चैत १७ गते जवाफ फर्काएका थिए ।

उपमहासचिव भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई शत्रु देशको नागरिकलाई झैँ व्यवहार गरेको आरोप लगाएका थिए । त्यस्तै पाण्डेले ओलीले गुटको भेलालाई पार्टी केन्द्रीय कमिटीको बठैक भनेर दुष्प्रचार गरेको र पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका थिए ।

प्रतिक्रिया