नेपाल समूहमाथि ओली झनै आक्रामक

admin

काठमाडौं, २० चैत : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् ।

वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन्। यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।

पहिलो चरणमा वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको ओलीले उक्त समूहका थप नेताहरुमाथि स्पष्टीकरणमार्फत कारबाही गर्ने गृहकार्य शुरू भएको ओली निकट एक नेताले बताए ।

उनका अनुसार पार्टी नीतिविपरीत गतिविधि गर्ने नेताहरुमाथि पार्टीले स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अगाडि बढाउँछ । ती नेताले भने– ‘पार्टी अब अलमलमा पर्दैन, पार्टीभित्र गलत काम गर्नेमाथि धमाधम कारबाही शुरु हुन्छ ।

’नेपाल पक्षले भने ओलीले गरेको कारबाहीबाट नडराउने बताउँदै देशभर समानान्तर कमिटी गठनलाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ । राष्ट्रिय कार्यकर्ताको भेला गरिसकेको नेपाल समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ ।

नेपाल समूहका नेता ठाकुर गैरेले अध्यक्ष ओलीको कारबाहीको धम्कीबाट नडराउने बताउँदै देशव्यापी राष्ट्रिय अभियान लिएर जाने बताए । उनले भने– ‘ओली प्रवृत्तिको स्वेच्छाचारी र अवसरवादको विरुद्ध राष्ट्रिय अभियान लिएर जान्छौँ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया