देशका धेरै ठाउँको मौसम सफा, कम भयो प्रदूषण

admin

काठमाडौं, २० चैत : काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अहिले सफा छ । काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको छ । तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

यस्तै, आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अन्य ठाउँमा भने नपर्ने मौसमविद् सापकोटाले बताउनुभयो ।

यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने मौसमविद्ले बताएका छन् । ‘अहिले मौसम सफा हुँदै गएको छ तर, आइतवार, सोमवारदेखि फेरि वायुमण्डल स्थिर रहने देखिएको छ’, उहाँले भन्नुभयो- ‘वायुमण्डल स्थिर रहँदैमा प्रदूषण बढ्छ भन्ने होइन तर डढेलो नियन्त्रण भएन भने चाहिँ हावा नचल्दा प्रदूषण बढ्ने सम्भावना छ ।’

सुख्खापनका कारण देशका धेरैजसो क्षेत्रका वनमा दिनहुँजसो आगलागी हुने गरेको छ । आज पनि देशका विभिन्न २८ क्षेत्रमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । प्रणालीका अनुसार सबैभन्दा धेरै सुर्खेतका २९ ठाउँमा, सल्यानका २२ ठाउँमा र बर्दियाका विभिन्न २१ क्षेत्रमा डढेलो लागेको छ ।

वातावरणविद्हरुले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो भएकाले यसको नियन्त्रणमा जोड दिएका छन् । तर पर्याप्त पानीका स्रोत नहुँदा र आवश्यकता अनुसार दक्ष जनशक्ति नहुँदा डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ ।

प्रतिक्रिया