ल्याण्डफिल्ड सिसडोलमा फोहर विसर्जनको अवरोध हट्यो, आजैदेखि फोहर उठ्ने

admin

काठमाडौं, २० चैत : काठमाडौं महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले शुक्रबारबाटै अवरोध खुला गर्ने निर्णय गरेको छ । महानगरपालिका र ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासीसहित जनप्रतिनिधिबीच शुक्रबार भएको छलफलपछि फोहर विसर्जनको अवरोध हटेको हो ।

बिहीबार भएको छलफलमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य अस्वस्थ्य भएपछि शुक्रबार बस्ने गरी टुङ्गिएको थियो । आँखामा समस्या भएपछि प्रमुख शाक्य बिहीबार वार्तामा अन्तिमसम्म बस्नसकेका थिएनन् । शुक्रबार पनि उनी बिरामी अवस्थामै उपस्थित भइ वार्तामा बसेका थिए ।

फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर विसर्जनमा अवरोध गर्दै आएका थिए । फोहर विसर्जनमा अवरोध भएपछि शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरूका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरू सहमत भएका हुन् ।

छलफलका क्रममा उनीहरूका माग सम्बोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले केही मागका बारेमा थप छलफल गरी थप व्यवस्थित ढङ्गले अघि बढ्न सकिने पनि बताए । प्रमुख शाक्यले छलफलमा आफूहरूले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए ।

स्वास्थ्यसम्बन्धी बुँदामा अझै छलफल गरी अघि बढ्न सकिने उनको भनाइ थियो । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौंको अस्पतालमार्फत सेवा उपलब्ध गराउने हो त्यो विषयमा प्रष्ट धारण बनाएर आउन उनले आग्रह गरे । धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौंले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे ।

उनले स्थानीयस्तरका समस्या संस्थागत रूपमा आउनुपर्नेमा जोड दिँदै त्यसो भयो भने मात्रै सङ्घीयताले पालिका सरकारलाई दिएको अधिकारले सार्थकता पाउने बताए । छलफलमा सहभागी ककनी गाउँपालिका ३ का अध्यक्ष घननाथ बजगाईँले फोहर विसर्जनको अवरोध हटेको जानकारी दिए ।

‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौं महानगरपालिकाले तत्कालका लागि खर्च बेहोर्ने, जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउनेलगायतका सहमतिपछि फोहर विसर्जनको अवरोध हटेको छ’, बजगाईँले भने, ‘अब आजैबाट फोहर उठ्छ ।’

काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आउँदो आर्थिक वर्षको बजेटमा तीनरतीन करोड रुपैयाँ व्यवस्था गर्ने, धुनीबेसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिनेलगायतका विषयमा सहमति भएको छलफलमा भएका सहमतिलाई अन्तिम रूप दिइ सहमतिमा हस्ताक्षर गर्ने बताए ।

दुई दिनअघिको छलफलमा प्रमुख शाक्यले प्रभावित क्षेत्रका विद्यालयका लागि ५१ जना शिक्षकको दरबन्दी माग गरेको भन्दै त्यो मागप्रति सकारात्मक बनी नेपाल सरकारबाट स्थायी दरबन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उनीहरूले व्यवस्था गरेको अस्थायी दरबन्दीका ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी दुई दिनअघि नै भएको छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आउँदो आर्थिक वर्षको बजेटमा तीनरतीन करोड रुपैयाँ व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका थिए ।

त्यसैगरी प्रमुख शाक्यले यसअघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स खरिद गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । यसअघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीले असन्तुष्टि व्यक्त गरेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया