कृष्णप्रसाद भट्टराईको पालमा चर्चामा आएको आयोजना केपी ओलीको पालामा सम्पन्न भयो : राष्ट्रपति

admin

काठमाडौं, २० चैत : राष्ट्रपति विद्यादेवी भण्डारी पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पानीका स्रोतहरुको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छिन् । काठमाडौं उपत्यकामा भृकुटीमण्डपस्थित ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन राष्ट्रपति भण्डारीले गरेकी हुन् ।

शुक्रबार काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन, जनसंख्या बृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिका पानीको अत्याधिक दोहन जस्ता कारणले पानीका स्रोतहरु प्रदूषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी काठमाडौं उपत्यकामा ल्याउन सफल भएकोमा सरकारलाई धन्यवाद दिइन् ।

‘पानीको स्रोत संरक्षण सम्बर्द्धनमा त्रिभुवन विश्वविद्यालयसहित प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनुपर्दछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘बढ्दो जनसंख्यासँगै काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्न मेलम्चीको परिकल्पना ५ दशक अघि नै गरिएपनि करिब ३ दशकअघि कृष्णप्रसाद भट्टराईको पालमा चर्चामा आएको आयोजना केपी शर्मा ओलीको पालमा सम्पन्न भएको छ, जसले जनतामा खुसी छाएको मैले विश्वास व्यक्त गरेकी छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ठूला पूर्वाधार आयोजन सम्पन्न गर्न सचेत बन्नुपर्ने आफुलाई महसुस भएको विकास निर्माणका काममा अवरोध हुनु चिन्ताको विषय भएको बताइन् । उनले मेलम्ची आयोजनाको सफल कार्यान्वयनसहित दीगो संरक्षणका लागि शुभकामना प्रकट गर्दै आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने सबै पक्षको योगदानको स्मरण गर्दै आभार व्यक्त गरिन् ।

मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाइएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिसँगै उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरुको पनि सहभागिता रहेको थियो । भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

प्रतिक्रिया