नयाँ सत्ता समीकरणको गृहकार्य सुरु

admin

काठमाडौं, २२ चैत : नयाँ सत्ता समीकरणको गृहकार्य सुरु भएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको हो ।

कांग्रेसले सरकार बनाउनेबारे निर्णय गरेको भोलिपल्टदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपाका नेताहरुसँग छलफल सुरु गरेका छन् । उनले शनिबार पनि कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

यस्तै माओवादी केन्द्रले आइतबार नयाँ सत्ता समीकरणबारे जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ । कांग्रेसको निर्णय सकारात्मक रहेको र जसपासँग आइतबार छलफल गर्ने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताउँदै आएको छ । यस्तै माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थालाई लिएर आइतबार स्थायी कमिटी बैठक बोलाएको छ ।

एमाले र माओवादीको एकता भङ्ग भएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले देउवालाई कांग्रेस नेतृत्वको सरकारको पहल थाल्न पटक-पटक भन्दै आएका छन् । तर कांग्रेस सभापति देउवाले सरकारमा जाने वातावरण बनिनसकेको र अहिले नै हतार गर्न नहुने बताउँदै आएका थिए ।

 

प्रतिक्रिया