उचित व्यवस्थापन गर्न नरैनापुरका अग्नि पीडितको माग

admin

बाँके, २२ चैत : बाँकेको नरैनापुरका अग्नि पीडितले आफूहरुको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । आफूहरुको घरगोठ, खानेकुरा र लत्ताकपडा सबै जलेर नष्ट भएको भन्दै उनीहरुले उचित व्यवस्थापन गर्न माग गरेको हो ।

फुसको छानो भएकाले धेरै क्षति हुन पुगेकाले फुसको छानो विस्थापन गरेर घर निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले जानकारी दिएका छन् ।

आफू घटनापछि पीडितहरुसँगै रहेको भन्दै उनले जतिसक्दो छिटो आवश्यक प्रबन्ध मिलाउन केन्द्र र प्रदेश सरकारलाई आग्रह गरिएको उनले बताए । अग्नि पीडितहरु अहिले विभिन्न ४० वटा क्याम्पमा बसिरहेका छन् ।

आगोले घर पूर्णरुपमा जलेर नष्ट भएसँगै आफूहरुले ४० वटा क्याम्प बनाएर उनीहरुलाई त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष शाहले बताए । यस्तै आइतबार घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको टोली जाँदै छ ।

अग्नि पीडितहरुलाई तत्काल आवश्यक पर्ने कुराहरु र अब गर्नुपर्ने व्यवस्थापनबारे जानकारी लिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ नेतृत्वको टोली नरैनापुर जान लागेको हो । नरैनापुरमा लागेको आगो गएराति अबेर नियन्त्रणमा आएको छ । आगलागीका कारण १२० भन्दा धेरै घर जलेर नष्ट भएको छ । अहिले क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ ।

प्रतिक्रिया