काठमाडौं, २२ चैत : नेपालका विभिन्न ठाउँको वन क्षेत्रमा फेरि डढेलो बढेको छ । गत बुधबार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको संख्या बढेको हो । वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अहिले ५५ जिल्लाका चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको छ । अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको छ ।
यस्तै दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका २४/२४ तथा बर्दिया र डोटीका २१/२१ ठाउँमा सक्रिय डढेलो रहेको छ । कैलाली, कञ्चनपुर, उदयपुरका, बाँके, कपिलवस्तु, मकवानपुरलगायतका जिल्लामा पनि अहिले सक्रिय डढेलो रहेको छ । वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्कअनुसार गएको पुसपछि मात्रै देशका सबै जिल्लामा गरी ३८ सय चार वटा ठाउँको जङ्गलमा डढेलो लागिसकेको छ ।
जंगलमा फैलिएको डढेलोका कारण गएको हप्ता काठमाडौं उपत्यकासहित देशभरको वायु प्रदूषण बढेर विद्यालय नै बन्द गर्नुपरेको थियो । अहिले वायु प्रदूषणको मात्रा केही घटे पनि जंगलमा डढेलो फैलने क्रम बढेकाले फेरि वायु प्रदूषणको जोखिम बढेको वातावारणविद्ले बताएका छन् । केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ ।
वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले आग्रह गरेका छन् । यस्तै काठमाडौंको वायु प्रदूषण कम हुँदै गए पनि विश्वभरको तुलनामा शीर्ष स्थानबाट भने तल झर्न सकेको छैन । अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल कायमै छ । विश्वभरको वायु प्रदूषण कम हुँदै जाँदा नेपालको पनि सुधार भएको तर शीर्ष स्थानमा कायमै देखिएको हो ।