प्रदूषण र तुवाँलोकै कारण चिसो बढेको हो ?

admin

काठमाडौं, २३ चैत्र : काठमाडौंसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ । चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो । वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण चिसो पनि बढेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

उनका अनुसार तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको हो । जमिन राम्रोसँग तात्न नपाउँदा अधिकतम र न्यूनतम तापक्रम घटेको र यसकै कारण चिसो भएको उनले बताए । सामान्यतया चैतको यो बेला काठमाडौंको न्यूनतम तापक्रम १३, १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै हुने गर्थ्यो ।

तर, केही दिनदेखि न्यूनतम तापक्रम ९ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियसको हाराहारीमा रहने गरेको छ । पानी नपर्दासम्म प्रदूषण कायमै रहने र प्रदूषण रहेसम्म मौसम यस्तै रहने मौसमविद् अर्यालले बताए । प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि उनले जानकारी दिए ।

यस्तै वातावरण विभागले पनि प्रदूषण पूर्णरुपमा हट्न समय लाग्ने बताएको छ । अघिल्लो हप्ताको तुलनामा प्रदूषण केही घटे पनि तत्काल पूर्णरुपमा हट्ने सम्भावना नरहेको विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताए । देशका विभिन्न ठाउँमा लागेको आगो निभाउन नसक्दासम्म प्रदूषण कायमै रहने उनको भनाइ छ । 

प्रतिक्रिया