जसपाले नयाँ सरकार बनाउन लागेका कांग्रेस र माओवादी केन्द्रलाई साथ दिने सङ्केत देखाएन

admin

काठमाडौं, २३ चैत्र : जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने सङ्केत नदेखाएपछि कांग्रेस र माओवादी केन्द्र अलमलमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने तयारीमा लागेका (नयाँ सरकार) कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् ।

तर, ठाकुर र महतो ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा अझै देखिएका छैनन् । जसपाभित्रै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । गएको शुक्रवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।

कांग्रेसको निर्णयपछि माओवादी केन्द्र पनि उत्साहित भएको थियो । अस्ति कपिलवस्तुमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिटै वैकल्पिक सरकार बन्ने बताएका थिए । जसपासँग सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । तर जसपाले साथ दिने सङ्केत नदेखाएपछि माओवादी केन्द्र अलमलमा परेको छ ।

यही अलमलका कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या सुनिश्चितता नहुँदा कांग्रेस पनि अलमलमा छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा वैकल्पिक सरकार गठन गर्न कांग्रेसलाई जसपाको साथ आवश्यक पर्छ ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन् । माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् । नेकपा एमालेका १ सय २१ सांसद छन् । राप्रपा, जनमोर्चा र नेमकिपाका एक-एक जना सांसद छन् । कांग्रेसलाई गठबन्धनको सरकार बनाउन माओवादी केन्द्र र जसपा दुवै पार्टीको साथ चाहिन्छ ।

जसपाभित्र सत्ता समीकरणका विषयमा एकमत नहुँदासम्म वैकल्पिक सरकार गठन हुने सम्भावना देखिँदैन । माओवादीले सरकारलाई गरिरहेको समर्थन फिर्ता लिएमा ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत सिद्ध गर्नुपर्ने हुन्छ । जसपाको साथ नपाएमा र आफ्नै पार्टीको नेपाल-खनाल पक्षले मत नदिएमा ओलीले बहुमत गुमाउन सक्छन् ।

प्रधानमन्त्री केपी ओलीले यसबीचमा जसपालाई फुटाएर १७, १८ जना सांसदलाई आफूतिर तानेर बहुमत पुर्‍याउने प्रयास गर्ने सम्भावना रहेको पनि विश्लेषण गरिएको छ । तर माओवादीले समर्थन फिर्ता नलिने र जसपाले कांग्रेस-माओवादीलाई साथ दिने निर्णय नगर्दासम्म ओली सरकारले नै निरन्तरता पाउनेछ ।

प्रतिक्रिया