एलजी कम्पनीद्वारा मोबाइल फोन व्यापार बन्द गर्ने निर्णय

admin

एजेन्सी, २३ चैत : एलजी कम्पनीले मोबाइल फोन व्यापार युनिट बन्द गर्ने निर्णय गरेको छ । यस निर्णयलाई बोर्ड अफ डायरेक्टर्स (निर्देशकहरूको बोर्ड)ले अनुमति दिएको कम्पनीले एक विज्ञप्तिमा जनाएको छ । ‘मोबाइल फोन व्यापारबाट बाहिर निस्कने निर्णय अहम् रणनैतिक निर्णय हो, अब कम्पनी विद्युतीय कारहरूको पुर्जा बनाउने, कनेक्टेड डिभाइस बनाउने, रोबोटिक्स, स्मार्ट होम सोल्युशन्स र आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो ध्यान बढाउनेछ’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि कम्पनीले आफ्ना वर्तमान ग्राहकलाई सेवा दिइरहने र समय-समयमा ग्राहकका लागि जरुरी सफ्टवेयर अद्यावधिक पनि जारी गरिरहने स्पष्ट पारेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस युनिटका लागि क्रेता नभेटिएपछि कम्पनीले यसलाई बन्द गर्ने निर्णय गरेको हो । यो पहिला दक्षिण कोरियाली कम्पनी हो जसले घाटामा चलिरहेको मोबाइल फोन युनिट बन्द गर्न लागेको हो ।

यसपछि पनि मोबाइल फोन व्यवसायबाट मिलेको आफ्नो अनुभवको प्रयोग गरेर ‘६ जी’ जस्ता मोबाइलसँग जोडिएको प्रविधिमा काम जारी राख्ने कम्पनीले जनाएको छ । यही वर्षको जुलाई ३१ सम्म यस व्यापारलाई पूर्णरुपमा बन्द गर्न सकिने कम्पनीले विश्वास व्यक्त गरेको छ । यसपछि पनि केही समयका लागि कम्पनीको फोन बजारमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया