‘प्रधानमन्त्रीलाई रहर हो भने रातो किताबका सबै योजना बालुवाटारबाटै शिलान्यास गरे हुन्छ’

admin

काठमाडौं, २३ चैत : प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद भरतकुमार साहले प्रधानमन्त्रीले बालुवाटारमा बसेर कुनै तयारी र डिजाइन नै नभएका एक सय ६५ वटा सडकको शुभारम्भ गरेको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्रीलाई शिलान्यासकै रहर हो भने रातो किताबमा रहेका सबै आयोजना बालुवाटारमै बसेर शिलान्यास गर्न उनले व्यङ्ग्यात्मक सुझाव दिए । यस्तै सांसद रङ्गमती शाहीले देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गमा प्रवेश गरेको भन्ने भाषण सुनेको तर आफ्नो क्षेत्रमा एउटा एम्बुलेन्ससमेत नहुँदा बिरामीको अकालमै ज्यान गुमाएको गुनासो गरिन् ।

राष्ट्रपतिले अपराधीको कैद मिनाहा गरिदिएको तथा म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीलाई देखी सहन्नँ भन्ने प्रधानमन्त्रीले कर छल्नेहरूकै घरमा दलको कार्यालय राखेको भन्दै शाहीले आक्रोश पोखिन् । यस्तै सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद् असफल बनाउन बिजनेस नदिएको भन्दै उनले संसदमा आएर आफूलाई लागेका कुरा राख्न र संसद्को सम्मान गर्न आग्रह गरे ।

सांसद् राजबहादुर बुढाले संसद्लाई काम नदिएको भन्दै विरोध जनाए । यस्तै सांसद भैरवबहादुर सिंहले बझाङका १२ वटै पालिकामा भोकमरी परेको भन्दै छिटो भन्दा छिटो खाद्यान्न पुर्‍याउन सरकारको ध्यानाकर्षण गराए । सांसद मेटमणि चौधरीले दाङमा मापदण्ड विपरीत जमिन तथा नदी, खोला उत्खनन गरेर चुरे क्षेत्र ध्वस्त बनाउने काम भइरहेको भन्दै तत्कालै रोक्न माग गरे ।

सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सुर्खेत-नाग्मा सडक खण्ड अत्यन्तै जीर्ण भएको र आउँदो बर्खामा ठूलो समस्या आउन सक्ने भन्दै मर्मतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको बुटवल-दोभान सडक खण्ड बिजोग अवस्थामा रहेको तर सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाए ।

सांसद योगेश भट्टराईले ताप्लेजुङको सिरान गाउँ र दोभानमा भएको आगलागीका पीडितलाई राहत, आवासको व्यवस्था गर्न र दमकललगायतका साधनको व्यवस्था गर्न आग्रह गरे । यस्तै सांसद रामबहादुर विष्टले तीन महिनाभित्र सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउँछन् भन्ने प्रधानमन्त्रीको गफ कता हरायो भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया