सांसद कँडेलले गोकुल बाँस्कोटातर्फ लक्षित गर्दै भने, ‘जस्ता गुरु, त्यस्तै चेला’

admin

काठमाडौं, २३ चैत : प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलबीच घोचपेच भएको छ । विशेष समयमा बोलेका सांसद बाँस्कोटाले सरकारले कैयौँ राम्रा काम गरेको तर जस नपाएको भन्दै विपक्षीको निकै आलोचना गरे ।

विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले विकासका लागि राजनीति नगर्ने हो भने के को लागि सांसद बनेको भन्दै प्रश्न पनि गरेका छन् । उनले भने, ‘सरकारले तीव्र विकास गरिरहेको छ, केहीलाई देखी नसक्नु भएको छ, विकास निर्माण देख्न र सुन्न नसक्नेले कानमा कपास र देख्न नसक्नेले साउने चस्मा लगाए हुन्छ ।’

त्यसपछि बोलेका नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सुरुमै बाँस्कोटातर्फ लक्षित गरेर भने, ‘जस्ता गुरु, त्यस्तै चेला ।’ त्यसपछि कँडेलले २०७४ सालको चुनावको प्रचारको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गोरखा पुगेर शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै कार्यकर्तालाई समवेदना दिएको स्मरण गरे । देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र पार्टीको अध्यक्ष जस्तो पदमा बसेर के बोल्ने, के नबोल्ने भन्ने कुरा ओलीलाई ज्ञान नभएको कँडेलले बताए ।

उनले भने, ‘पछिल्लो समयमा ओलीका अभिव्यक्ति सुन्ने हो भने हामी आफैलाई लाज लाग्छ, ओलीका यस्तै अभिव्यक्तिले गर्दा उहाँसँगै लडेका कैयौँ साथीले छाडिसके, आफ्नै साथीलाई उहाँले पन्छाउनुभएको छ, कुर्सी छाड्नुपर्ने हो कि भन्ने पीडाले उहाँलाई सताएको छ, गोरखामा उहाँले शेरबहादुर देउवालाई जे भन्नुभएको थियो, त्यही शब्दमा हामीले भन्ने हो भने, सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुन् ।’

वर्तमान प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेमा नलिएको भन्दै उनले प्रश्न समेत उठाए । ‘हिजो नेकपाले विश्वासको मत लिएको हो । अदालतको आदेशबाट नेकपा विभाजन भएको हो भने केपी ओलीमा अलिकति पनि आफ्नो समर्थन छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । उहाँले समर्थन फिर्ता लेऊ भन्‍न पाउनुहुन्न । उहाँले विश्वासको मत लिनुपर्छ’ कँडेलले भने । संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया