काठमाडौं, २३ चैत : काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परे एन–९५ मास्क प्रयोग गर्नसमेत अनुरोध गरे । उनले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गरे ।
वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।
वरिष्ठ अनुसन्धान अधिकृत डा. धिमालले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारी साधन नचलाउन र सवारी साधन वा पेसा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गरे ।
यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे । गर्मी बढेसँगै डढेलोका कारण सोमवार बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ ।
अहिले काठमाडौंको एक्यूआई दुई सय ५० मापन भएको छ । सामान्यतया एक्यूआई ५० सम्म हुनु राम्रो हो । ५० देखि एक सय सम्मलाई सामान्य मानिन्छ । एक्यूआई एक सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । दुई सयसम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ । एक्यूआई तीन सय पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानु चाहिँ घातक मानिन्छ ।
यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारण सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो । अहिले पनि काठमाडौं उपत्यकामा रहेका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषणको मात्रा खतरनाक अवस्थामा रहेको देखाइरहेका छन् ।