काठमाडौं, २३ चैत : दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको दुवै देशका नापी अधिकृतले स्थलगत अध्ययन गर्ने भएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अप्रिल १२ तारिख अर्थात् यही चैत ३० गते नेपाल र भारतका नापी अधिकृतको टोलीले महाकालीमा बन्दै गरेको पर्खालको स्थलगत अध्ययन गर्ने र त्रुटि भएमा सच्याउन पहल गर्ने बताए ।
भारतले महाकालीमा एकतर्फी रूपमा पर्खाल लगाएर नेपालतर्फको भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसदमा पटक-पटक सरकारको आलोचना भएको थियो । त्यसपछि सरकारले गएको पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गरिरहेको पनि मन्त्री ज्ञवालीले बताए ।
एकतर्फी पर्खाल लगाएको विषयमा भारतसँग कुरा भएको र पर्खाल ठिक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा दुवै देशले संयुक्त अध्ययन गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।
म्यानमार घटनाबारे नेपालको गहिरो चिन्ता र चासो
यसैगरी सरकारले म्यानमारमा विकसित पछिल्लो घटनाक्रमका बारेमा गहिरो चिन्ता र चासो रहँदै आएको बताएको छ । म्यानमारको सेनाले सत्ता हातमा लिएर विना कारण नि’ह’त्था नागरिकको ह’त्या गरिरहेको, देश छाड्न बाध्य भएको लगायतका गम्भीर मानव अधिकार उल्लङ्घनका घटना भइरहे पनि सरकार नबोलेको भन्दै संसदमा चर्को आलोचना भएको छ ।
प्रतिनिधि सभाको विशेष समयमा सांसदका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारको विषयमा गहिरो चिन्ता रहेको तथा नेताहरूको रिहाइ र बल प्रयोग नगर्न यसअघि नै विज्ञप्ति जारी गरिसकेको जानकारी दिए ।
यस्तै सांसदहरूले म्यानमारको विषयका बारेमा बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय भर्चुअल बैठकमा छलफल किन भएन भनी सोधेको प्रश्नको उत्तर दिँदै ज्ञवालीले त्यस्ता फोरममा कुनै खास देशमा भएको घटनाबारे छलफल नहुने र त्यसरी ती संस्था नचल्ने बताए ।