कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्न सक्छ, स्वास्थ्य मापदण्ड पालना गरौँ : स्वास्थ्यमन्त्री

admin

काठमाडौं, २३ चैत : सरकारले आउँदो जेठ र असारमा कोभिड-१९ संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका हुन् ।

पछिल्लो समय कोभिड संक्रमितहरू बढ्दै गएको र छिमेकी देश भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना नगरे जेठ, असारमा फेरि उच्च दरमा पुग्न सक्ने बताए । उनले भने, ‘कात्तिक पछाडिका दिनहरूमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो साता देखि निकै कम भइ सकेकोमा फेरि संक्रमण बढ्दै गइरहेको छ ।’

‘अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ, असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितको संख्या ११ हजार पाँच सय ६३ बाट बढेर चैत २२ गते ९२ हजार नौ सय पुगेको स्थितिले हामीलाई थप सर्तक र सचेत बनाएको छ ।’कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शीघ्र पहिचान, आइसोलेशन र शङ्कास्पद व्यक्तिलाई अनिवार्य क्वरेण्टीन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुका साथै समयका हिसाबले पर धकेल्न सकिने हुँदा यसतर्फ सबैको ध्यान जरुरी छ ।’

उनले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । मन्त्री त्रिपाठीले गएको पुस २० गते नै कोभिड-१९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरू गरेको बताए । खोपको आपत्कालीन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधि तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले स्पष्ट पारे । तर अध्यादेश संसद्को पहिलो बैठकमा पेस हुन नसकेको तर्फ उनले चिन्ता व्यक्त गरे ।

मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार चैत २२ गतेसम्म २२ लाख ८५ हजारभन्दा बढीको नमुना परीक्षण गरिएको छ । दुई लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भइसकेका छन् । तीन हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण ज्यान गुमाउनेको दर १ दशमलव १ प्रतिशत रहेको छ । गएको कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । पछिल्लो परिणामले बिस्तारै पोजेटिभका घटना बढ्दै गएको मन्त्री त्रिपाठीले सङ्केत गरेको बताए ।

सरकारले महामारी रोकथामका लागि वैज्ञानिक यथार्थपरक नीतिहरू तर्जुमा गरी बहुक्षेत्रीय सहयोग र समन्वय गर्दै आएको पनि उनले स्पष्ट पारे । नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार र सबै पालिका सरकारहरूको समन्वय, सहयोग तथा सहकार्यले गर्दा कोभिडका कारण ज्यान गुमाउने तथा संक्रमण हुनेको दरलाई कम गर्न सकिएको बताए ।

उनले कोभिड-१९ शताब्दीकै प्रमुख चुनौतीको रूपमा रहेको र त्यसले मानव स्वास्थ्यसँगै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गरे । मन्त्री त्रिपाठीले देशभरका प्रयोगशालाको स्थिति, कोभिड उपचारका लागि भएका व्यवस्था, क्वरेण्टीनलगायत बारे पनि विस्तृत जानकारी गराएका थिए । उनले कठिन समयमा पनि सरकारले औषधि औजार अभाव हुन नदिएको भन्दै त्यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

खोपको दोस्रो डोज भण्डारणमा छ, असारभित्र ६० लाखलाई खोप लगाउने तयारी
स्वास्थ्य मन्त्री त्रिपाठीले असारभित्र ६० लाख मानिसलाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रयासरत रहेको बताए । उनले पहिलो खोप लगाएकाहरूको दोस्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागी विश्वस्त हुन आग्रह गरे ।

उनले भने, ‘चैत २२ गतेसम्मको तथ्याङ्क हेर्दा जम्मा १८ लाख ६ हजार सात सय ८१ जनाले कोभिड-१९ विरुद्धको प्राप्त गरिसकेका छन् । पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिहरूलाई २०७८ वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा लगाएकाहरूको खोप सुरक्षित छ, त्यो लगाइएको छैन, भण्डारणमा छ । अन्यथा प्रचार प्रसारमा पर्नु जरुरी छैन ।’

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अहिलेसम्म पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको पनि उनले जानकारी दिए । पीसीआर, किट, गाउन, औषधि, उपकरण व्यवस्थापन, खोप खरिद, अभियान, स्वास्थ्यकर्मीको जोखिम भत्तालगायत विभिन्न विषयअन्तर्गतको खर्च यसमा समेटिएको छ । मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार दुई अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोभिड नियन्त्रणका लागि भएका खर्चबारे श्वेत पत्र जारी गर्न आफू र मन्त्रालय तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया