यसरी नजिकिए ओली र ठाकुर, कांग्रेस र माओवादी केन्द्र अलमलमा

admin

काठमाडौं, २४ चैत : चैत १७ गते रिपोर्टर्स क्लबले काठमाडौंको राष्ट्रिय सभामा गरको कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए भने विशेष अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर । ओली जसै कार्यक्रम उद्घाटनका लागि पानसमा बत्ती बाल्न अघि बढे, ठाकुर ताली बजाउन छेउमा उभिए । लगत्तै ठाकुरको हात तानेर ओलीले पानसमा बत्ती बाल्न लगाए, उनको हातमाथि आफ्नो हात राखे ।

२०६२/६३ को जनआन्दोलनयता फरक दुईधारको नेतृत्व गर्दै आएका ओली र ठाकुरको हात जसरी मिल्यो, पछिल्लो कालमा मन पनि उसै गरी मिलिरहेको छ । संघीयता र गणतन्त्रको मुद्दालाई प्रमुखतासाथ बोकेका ठाकुर र कुनै समय मधेसका मुद्दामा अत्यन्तै अनुदार भनिएका ओलीको मन मिल्नुको कारण के होला ? ठाकुर भन्छन्, ‘पुराना कुरा इतिहास भए, अहिले परिस्थिति बदलियो ।’

प्रतिनिधिसभाको बैठकमा सोमबार केहीबेर सहभागी भएर उनी बबरमहलस्थित सम्पर्क कार्यालयमा पुग्दा सरकारसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य सर्वेन्द्रनाथ शुक्ला वार्ताबारे ब्रिफिङ गर्न पर्खिरहेका थिए । शुक्लाको ब्रिफिङले उनी केही आशावादी रहेछन् । गत बैशाख ८ मा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि बैशाख १० मा एकीकृत भएर जनता समाजवादी पार्टीको एउटै छाताभित्र रहेका दुई शक्ति अहिले परस्पर विरोधी धारमा उभिएका छन् ।

ओलीप्रति हमेसा खरो आलोचक रहँदै आएको ठाकुर समूह अहिले उनैसँग बाक्लो हिमचिम गरिरहेको छ । विश्लेषक सीके लाल मालिकहरूको झगडामा जसले जित्ने हो, त्यसको पछि लाग्दा नै फाइदा हुन्छ भन्ने बुझेरै ठाकुर समूह ओलीनजिक भएको हुन सक्ने बताउँछन् ।

‘सत्ता भनेको एउटा सरकार हो, एउटा प्रतिपक्षी हो । कांग्रेसको भूमिका हेर्ने हो भने अहिले प्रतिपक्षी त छै न । जब दुइटै एउटै हुन् भने दुइटामा जोसँग सरकार को लगाम छ, त्यहीसँग नजिक हुन सहज भयो नि त,’ लालले भने, ‘जहाँसम्म माओवादीको कुरा छ, उसले त मधेसको मुद्दालाई ठूलो धोका दिएको छ ।’

जसपाले साथ दिने सङ्केत नदेखाएपछि कांग्रेस र माओवादी केन्द्र अलमलमा
जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने सङ्केत नदेखाएपछि कांग्रेस र माओवादी केन्द्र अलमलमा परेका छन् । प्रधानमन्त्री ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने तयारीमा लागेका (नयाँ सरकार) कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् ।

तर, ठाकुर र महतो ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा अझै देखिएका छैनन् । जसपाभित्रै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । गएको शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो । कांग्रेसको निर्णयपछि माओवादी केन्द्र पनि उत्साहित भएको थियो ।

शनिबार कपिलवस्तुमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिटै वैकल्पिक सरकार बन्ने बताएका थिए । जसपासँग सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । तर जसपाले साथ दिने सङ्केत नदेखाएपछि माओवादी केन्द्र अलमलमा परेको छ । यही अलमलका कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन ।

सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या सुनिश्चितता नहुँदा कांग्रेस पनि अलमलमा छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा वैकल्पिक सरकार गठन गर्न कांग्रेसलाई जसपाको साथ आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन् । माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् ।

नेकपा एमालेका १ सय २१ सांसद छन् । राप्रपा, जनमोर्चा र नेमकिपाका एक-एक जना सांसद छन् । कांग्रेसलाई गठबन्धनको सरकार बनाउन माओवादी केन्द्र र जसपा दुवै पार्टीको साथ चाहिन्छ । जसपाभित्र सत्ता समीकरणका विषयमा एकमत नहुँदासम्म वैकल्पिक सरकार गठन हुने सम्भावना देखिँदैन । माओवादीले सरकारलाई गरिरहेको समर्थन फिर्ता लिएमा ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत सिद्ध गर्नुपर्ने हुन्छ ।

जसपाको साथ नपाएमा र आफ्नै पार्टीको नेपाल-खनाल पक्षले मत नदिएमा ओलीले बहुमत गुमाउन सक्छन् । प्रधानमन्त्री ओलीले यसबीचमा जसपालाई फुटाएर १७, १८ जना सांसदलाई आफूतिर तानेर बहुमत पुर्‍याउने प्रयास गर्ने सम्भावना रहेको पनि विश्लेषण गरिएको छ । तर माओवादीले समर्थन फिर्ता नलिने र जसपाले कांग्रेस-माओवादीलाई साथ दिने निर्णय नगर्दासम्म ओली सरकारले नै निरन्तरता पाउनेछ ।

प्रतिक्रिया