दिल्लीमा अप्रिल ३० सम्म रात्रिकालीन कर्फ्यु

admin

काठमाडौं, २४ चैत : कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा (आज) मंगलबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । राति दश बजेदेखि बिहान पाँच बजेसम्मका लागि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

दिल्ली सरकारका अनुसार यो कर्फ्यु अप्रिल ३० सम्म लागू हुनेछ । सोमबार दिल्लीमा तीन हजार पाँच सय ४८ जना कोरोना संक्रमित थपिएका थिए, त्यस्तै १५ जनाको ज्यान गएको थियो । योसँगै दिल्लीमा संक्रमितको कुल संख्या ६ लाख ७९ हजार नौ सय ६२ पुगेको बीबीसीले जनाएको छ ।

अहिले दिल्लीमा सक्रिय संक्रमितको संख्या १४ हजार पाँच सय ८९ रहेको छ । यद्यपि स्वास्थ्यकर्मीहरूका लागि रात्रिकालीन कर्फ्यु लागू नहुने दिल्ली सरकारले जनाएको छ । साथै एअरपोर्ट, रेल स्टेशन या बस स्टेशन जानेहरूले टिकट देखाउनुपर्नेछ ।

यस्तै अत्यावश्यक सेवामा पनि कर्फ्यु लागू नहुने जनाइएको छ । भारतमा केही हप्तायता कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । बितेको २४ घण्टामा ९६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया