सुर्खेत, २४ चैत : कर्णाली प्रदेशको सरकार एमालेका तीन जना मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।
उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् । एमालेले गएको चार गते नै कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने अस्ति आइतवार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो ।
चालीस सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारबाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।