खनाल-नेपाल समूहद्वारा वाग्मती प्रदेशमा १७५ स्थायी कमिटी सदस्य घोषणा

admin

काठमाडौं, २४ चैत : नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी बनाएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय कमिटी घोषणा गरिएको हो ।

कमिटीको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएका छन् । कार्यक्रममा नेता नेपालले १७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराएका हुन् । कार्यक्रममा बोल्दै नेता नेपालले वडा तहसम्म समानान्तर कमिटी बनाउने उद्घोष गरे ।

उनले ओलीसँग आत्मसमर्पण गरेर जान नहुने भन्दै सकारात्मक शक्तिसँग एकताबद्ध भएर जान चाहेको उल्लेख गरे । उनले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिने समेत उल्लेख गरे । सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले फर्किएको उनको भनाइ छ ।

नेता नेपालले छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के-के गर्छन् हेर्न बाँकी रहेको तर्क गरे । आफुहरुलाई माओवादीसंग निकट रहेको भन्दै ओलीले इमोशनल व्ल्याकमेल गरेको नेता नेपालले बताए । उनले पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउने जिकिर गरे । खनाल-नेपाल समूहले वाग्मती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित ४ जना नेतालाई पार्टीबाट निलम्बन गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाउने रणनीति बनाएको छ । जसअनुसार उक्त समूहले २०७५ जेठ २ गते अघिको कमिटीलाई क्रियाशील बनाइरहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया