केपी ओली र प्रचण्डको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ : नेता नेपाल

admin

काठमाडौं, २४ चैत : नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रूपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार आफू निकट वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिइ अध्यक्ष मानेमा नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए । आफ्नो पक्षमा लागेका कुनै पनि नेता तथा कार्यकर्तालाई बीचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए । एउटै डुङ्गामा यात्रा गर्नेहरूलाई आफूले सफलताका साथ वारिबाट पारि पुर्‍याइ छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले भने, ‘भोलि वैधानिक रूपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईँहरूलाई परेको होला, नआतिनुहोस्, जहाँ समस्या छ, त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौँ । त्यसो हुनाले बीचमा तपाईँहरूलाई छाड्ने छैनौँ । तपाईँहरू र हामी एउटै डुङ्गामा सवार भएका छौँ, त्यो डुङ्गालाई सफलताका साथ वारिबाट पारि पुर्‍याइ छाड्ने छौँ । लक्ष्यसम्म पुगी छाड्ने छौँ । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’

नेता नेपालले आफूहरू लोकतान्त्रिक कम्युनिस्ट शक्तिहरूसँग एकताबद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन् । त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वसँग कुराकानी भइरहेको पनि उनको भनाइ छ ।

नेता नेपालले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौँ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन वैद्यजीको समूहसँग कुरा गर्‍यौँ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, अरू लोकतान्त्रिक पार्टीले पनि हाम्रो कुरालाई सकारात्मक रूपमा लिइरहनुभएको छ । हामी सबै सकारात्मक शक्तिहरूसँग एकताबद्ध भएर जान चाहन्छौँ । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले वाधा खडा गर्‍यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौँ । यही सङ्कल्पका साथ हामी यहाँ भेला भएका छौँ ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि नेता नेपालको दाबी छ । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको उनले बताए। तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको पनि नेता नेपालले बताए । अहिले प्रचण्ड र अन्य दलसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालको आरोप छ ।

उनले भने, ‘कहिलेकाहीँ भावनात्मक ब्ल्याकमेल हुन्छ । भावनात्मक ब्ल्याकमेल के हो भन्दाखेरि माओवादीसँग नजिक हुने, प्रचण्डको कार्यकर्ता हुन जाने भन्ने । हिजो केपी ओली र प्रचण्डको चोचोमोचो मिलेको थियो कि थिएन ? मै हुँ त्यो आवाज उठाउने । दुई वटाको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ । आज आएर प्रचण्डसँगको दुरी बढाउनका लागि र अरू पार्टीसँगको दुरी बढाउनका लागि आफू भने अत्यन्तै तल्लो दर्जामा गइकन सत्ता जोगाउनका लागि जुनसुकै तहमा पनि सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्नुपर्दैन । देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो कि, संविधान नै समाप्त पारिदिने हो कि, सङ्घीयता नै निलिदिने हो कि समावेशीता नै समाप्त पार्ने हो कि, गणतन्त्र नै खाइदिने हो कि, ४७ सालको संविधान बिउँताउने हो कि, देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो कि अनि धार्मिक हिसाबले पूरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरू धर्मका मान्छेहरूलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पुर्‍याइदिने हो कि, यावत् कुरामा मान्छेले गहिरो गरी वाच गरिरहेका छन् ।’

सोही कार्यक्रमा नेता नेपालले केपी ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरूप देखाएको बताएका छन् । उनले आफूहरूमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको पनि बताए । अहिले प्रतिनिधि सभा बिउँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दै हिँडिरहेको नेता नेपालले बताए ।

उनले भने, ‘केपी ओलीले आफ्नो वास्तविक स्वरूप देखाउनुभयो र अहिले आएर पार्टीको स्थापना गर्ने हामी जस्ता नेतालाई ६ महिनाका लागि निलम्बन भनेर घोषणा गर्नुभयो । मलाई निलम्बन गर्ने घोषणा गर्नुभयो । भीम रावललाई निलम्बन गर्ने घोषणा गर्नुभयो अनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई त ब्राइकेटमा के पनि लेखिदिएको छ भने- तपाईँहरू प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ, अहिलेलाई हटाएको छैन । डरले थरथर काम्छन कि, घुँडा टेक्छन् कि, समर्पण गर्छन् कि, मेरो पद जोगाइदेउ भन्छन् कि भनेर लेखेको होला । त्यो पद त उहीले गइसकेको थियो । उहीले भङ्ग गरेको होइन प्रतिनिधि सभा । प्रतिनिधि सभा त केपीले नचाहँदा नचाहँदै पनि सर्वोच्च अदालतले बिउँताइदिएको हुनाले केही महिनासम्म बसेका छौँ । सँधै सुनेका छौँ, अब चुनाव छिटो हुन्छ । केपी ओलीले नै चुनाव गराउँछन्, अब हेर्न बाँकी नै छ ।’

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरूले आफूहरूलाई पहिलादेखि नै सताउँदै आएको पनि बताए । २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेशन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिँडेको स्पष्ट देखिएको पनि उनले बताए । अहिले आफूहरूले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरे पनि केपी ओलीको अगाडि नसकेको पनि नेता नेपालले बताए ।

केपी ओलीको प्रवृत्तिलाई आफूहरूले स्वीकार गर्न नसक्ने उनले स्पष्ट पारे । ओलीसँग आफूहरूको विचारमा विवाद भएको नेता नेपालले बताए । आफूहरू सामूहिकता, बहस र विचार, मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको नेता नेपालको जिकिर छ ।

प्रतिक्रिया