काठमाडौं, २४ चैत : नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रिष्टियन समाजले आफ्नो नाममा सामाजिक संजालमा भ्रामक समाचार आएको भन्दै आपत्ती जनाएको छ ।
नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रिष्टियन समाजको नाम राखेर नेपालको संविधानमा खसआर्य एकै हुन् भनी कानुनमा समेट्नु ख्रीष्टियन समाजको लागि दुखद् कुरा भएको कुरा विज्ञप्तीमा उल्लेख गरिएको थियो सो कुरा सिंगो ख्रीष्टियन समुदायलाई बदनाम गराउन कपोलकल्पित र झुटा कुरा समावेश गरेर विज्ञप्ती निकालेको भन्दै सो विषयमा आफूहरुलाई केहि थाहा नभएको नेपाल राष्ट्रिय मण्डली सङ्गति तथा नेपाल ख्रिष्टियन समाजले यसको खण्डन गरेको छ ।
यस पटको जनगणनामा सम्पूर्ण ब्राह्मण तथा क्षेत्री समुदायका ख्रीष्टियनहरुले आफ्ना घरमा आउने गणकहरुलाई जातीमा खस र धर्म मष्ट लेख्न लेखाउन आग्रह गर्दै झुठो विज्ञप्ती सामाजिक संजालमा प्रकाशन भएको थियो ।
यो कार्य निन्दनीय भएको बताउदै यस्ता कार्यको घोर भत्सर्ना गर्ने नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रिष्टियन समाजले जनाएको छ । झुटा विज्ञप्ती निकालेर समाजमा अफवाह फैलाएको भन्दै यस कार्यमा संलग्नलाई कडा कारबाही गर्न पनि सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ । ने
पाल सरकारले पनि विद्यमान साइबर क्राइम गरेकोमा कडा भन्दा कडा कारबाही गर्नेमा आफूहरु विश्वस्त रहेको एन.सी.एफ.एन महासचिव शेरबहादुर ए.सी र एन. सी एस.महासचिव डील्लीराम पौडेलले संयुक्त रुपमा जानकारी दिएका छन् ।
संयुक्त विज्ञप्ति सम्बन्धमा
आदरणीय दाजुभाइ तथा दिदीबहिनहरू,
ख्रीष्टिय अभिवादन !
यहाँहरूले भर्खरै सामाजिक सञ्जालहरूमा हाम्रो नाउँ प्रयोग गरी आएको एउटा भ्रामक विज्ञप्ति पढ्नुभएकै होला । सो कुरा सरासर झुटो र कपोलकल्पित भएको जानकारी गराउन चाहन्छौं । उक्त विज्ञप्तिमा उल्लेख गरिएका कुराहरूका बारेमा हामीलाई केही पनि थाहा छैन र यसमा हाम्रो कुनै संलग्नता नै छैन । नेपाल राष्ट्रिय मण्डली संगति तथा नेपाल क्रिश्चियन समाज र सिंगो ख्रीष्टियन समुदायलाई बद्नाम गराउने कुचेष्टा स्वरूप यो काम गरिएको छ । यो जो जसले गरेको भए पनि एकदमै निन्दनीय छ र यस प्रकारका बदनियतपूर्ण कार्यको हामी घोर भत्सर्ना गर्दछौं । नेपाल राष्ट्रिय मण्डली संगति र क्रिश्चियन समाजको केन्द्रीय समितिमा यस्ता नचाहिने र अनावश्यक कुराहरूका सम्बन्धमा कहिल्यै पनि छलफल, कुराकानी र बहस भएको छैन । हामीले विगत लामो समयदेखि संयुक्त रूपमा कुनै प्रकारको विज्ञप्ति निकालेका पनि छैनौं र विज्ञप्ति निकाल्दा हामीले महासचिवका नामहरू प्राय: प्रयोग गर्ने गरेका छैनौं । हामीलाई बद्नाम गराउनकै लागि कुनै गिरोह वा समूहबाट यस प्रकारको काम गरिएको हो । यो कसले गरेको हो र किन गरेको हो भन्ने कुरा छिट्टै पत्ता लाग्ने छ र सम्बन्धित निकायले त्यस्ता गलत काम गरी एउटा सिंगो समाजको बद्नाम गराउने र समाजमा अराजकता फैलाउनेमाथि छिटोभन्दा छिटो कानुनी कारबाही गरोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं । ढिलो चाँडो सत्य कुरा बाहिर आउने नै छ र हाम्रो नाम, सही र छाप प्रयोग गरेर हामीलाई बद्नाम गराउने गिरोहको पर्दाफास हुने छ र यस प्रकारका भ्रमको खेती गर्नेहरूको असली अनुहार सबै नेपालीले छर्लङ्गै देख्ने छन् अनि त्यस्ताहरूलाई नेपाल सरकारले विद्यमान कानुनअनुसार साइबर क्राइम गरेकोमा कडाभन्दा कडा कारबाही गर्ने छ भन्ने हाम्रो विश्वास छ । यसका लागि सम्बन्धित पक्षलाई हाम्रो पूर्ण साथसहयोग रहने छ । अहिलेको यस भ्रमपूर्ण समाचारप्रति सबै जना सजग र सतर्क रहनुहोला । नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाजका सम्पूर्ण पदाधिकारीज्यूहरू तथा सम्पूर्ण ख्रीष्टियन समुदायलाई कुनै प्रकारको भ्रममा नपर्न र अहिले मिडियामा आएको भ्रामक समाचारलाई विश्वास नगर्न हार्दिक अनुरोध गर्न चाहन्छौं । हामी यो कुरामा पूर्ण विश्वस्त छौं, सत्य डग्दैन र झुटा टिक्दैन । यस प्रकारका गलत काम गर्ने र भ्रम फैलाउनेहरू छिटोभन्दा छिटो पत्ता लगाउन सकियोस् भनी प्रार्थना गरिदिनुहोला । धन्यवाद ।
शेरबहादुर ए.सी. महासचिव, एन.सी.एफ.एन.
डिल्लीराम पौडेल महासचिव, एन.सी. एस.