आज प्रतिनिधिसभाको बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ पेस हुँदै

admin

काठमाडौं, २६ चैत : बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विवादास्पद ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ को प्रतिवेदन पेस हुँदैछ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो । यो विधेयकप्रति नेपाली कांग्रेसका सांसदहरुले पहिलेदेखि नै विरोध जनाउँदै आएका छन् ।

नेपाली कांग्रेसका सांसदहरुको विरोध भए पनि संसदीय समितिको बहुमतले पारित गरेको यो विधेयक पारित भएको १५ दिनपछि प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो । यसअघि २०७६ सालको पुस १३ गते बसेको विकास तथा प्रविधि समितिले कांग्रेसका सांसदको विरोधका बाबजुद विधेयकलाई बहुमतको आधारमा पारित गरिएको थियो ।

यसैबीच, प्रतिनिधिसभाको बिहीबारको बैठकमा विभिन्न समिति र आयोगका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मधेशी आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र थारु आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस हुँदैछ।

यी दुई प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत पेस हुने सचिवालयले जनाएको छ । यस्तै बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले पूर्व सांसद ऐश्वर्यलाई प्रधानाङ्गको निधनमा शोक प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया