सरकारको समर्थन र आलोचना : ‘प्रधानमन्त्री ओलीले आफूलाई राजा महाराजा भन्दा महान् ठानेका छन्’

admin

काठमाडौं, २६ चैत : सांसदहरूले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद लालकाजी गुरुङले प्रतिनिधि सभालाई बेवास्ता गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजा महाराजा भन्दा महान् ठान्ने गरेको आरोप लगाए ।

File photo

‘हिजो दुई सय चार वर्षसम्म शासन गरेका राणाहरू र ३० वर्ष पञ्चायत शासन गर्ने राजाहरू त सत्ताच्युत भए भने प्रधानमन्त्री ओलीले आफूलाई उनीहरूभन्दा महान् विकासवादी नेताका रूपमा उभ्याएका छन्’, उनले भने । साथै उनले शिलान्यास गर्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवतः कीर्तिमान नै कायम गरेको र एकैपटक एक सय ६५ वटा सडकको शिलान्यास गरेको भन्दै व्यङ्ग्य गरे ।

सांसद सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गरेर सांसद र संसद्को अपमान मात्रै नभइ अस्तित्व समेत धुलोमा मिलाउने कोसिस गरेको आरोप लगाए । उनले भने, ‘यतिबेला सिङ्गै अधिवेशनलाई सरकारले बिजनेस विहीन बनाएको छ । के सरकारले बिजनेस दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुर्न स्थापित भइसकेको छैन ।’

शून्य समयमा बोल्दै सांसद लालबहादुर थापाले गएको साउन ४, २५ र भदौ २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडामा खेतीयोग्य भूमि बगाएको र कैयौँ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुनर्स्थापना गरी उचित राहतको व्यवस्था गर्न माग गरे । त्यस्तै सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएका चेपाङ बस्तीहरू जलाउने र भत्काउने काम गरेको भन्दै आपत्ति जनाए ।

सांसद विमला विश्वकर्माले तीन वर्षीय अवधिमा सरकारले गरेका कामहरूको स्वागत गरिन् । सांसद शान्ता चौधरीले विकासप्रेमीहरू खुसीले गदगद भएको भन्दै सरकारका कामहरूको प्रशंसा गरिन् । त्यस्तै सांसद सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

अर्का सांसद सरिताकुमारी गिरीले बाल विकास केन्द्रहरूमा कार्यरत शिक्षकहरूले श्रम ऐनअनुसार पारिश्रमिक नपाएको भन्दै आउँदो बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सीतादेवी यादवले शान्ति सम्झौताको १४ वर्ष भइसक्दा पनि द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका व्यक्ति र द्वन्द्व पीडितले न्याय नपाएको भन्दै उनीहरूलाई न्याय गरी आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायालय र नागरिकबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्भाग्यपूर्ण र रहस्यमय रहेको बताए । सांसद महन्थ ठाकुरले दिएको एक अन्तर्वार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘म ठाकुरजीसँग सोध्न चाहन्छु कि आज मधेशका नागरिकहरू सङ्घीयता विरोधी सरकारमा जान चाहँदैन, सङ्घीयता र गणतन्त्र विरोधी सरकारमा जान चाहँदैन ।’

सांसद स्मृतिनारायण चौधरीले दिल्लीबाट, चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाए । सांसद सञ्जयकुमार गौतमले बाघ, हात्ती र गैँडाको आतङ्कले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा रहेका नागरिक प्रताडित भएको भन्दै मध्यवर्ती क्षेत्रमा काम गर्ने, पर्यटन व्यवसायी तथा स्थानीयवासीको जीवन रक्षाको प्रत्याभूति गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया