काठमाडाैं : सत्तारुढ नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बनेको अवस्थामा अस्वस्थ्य खालका छलफल सदनमा चल्न थालेको टिप्पणी गरे।
उनले सांसद गगन थापालाई इंगित गर्दै विगतमा अभ्यास भएका, जाँचिएका, भोगेका र असफल सिद्ध भएका नेताहरूको चेलाहरूले भूमिका खेलिरहेको भनी कटाक्ष गरे।
‘प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने कतिपय साथीभाइलाई म के भन्न चाहन्छु भने, यो बोकाको शैलीले दाइँ गरिँदैन र दाइँ गर्न गोरुकै शैली चाहिन्छ र आज संसदमा सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनालाई हामीले सके सहयोग गरौं। नसके वस्तुनिष्ठ ढंगले त्यसको विरोध गरौं,’ बस्नेतले भने।
प्रधानमन्त्री राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिँदै आएको भन्दै उनले सरकारले गरेका विकास निर्माणका कामको विरोध गर्ने सांसदलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन,’ भनी भन्न चुनौती पनि दिए।
‘रानीपोखरी बनेको, धरहरा ठडिएको, भानु स्कुल बनेको कुराले किन हाम्रो टाउको दुख्दैछ ? एक दिनमा १ सय ९६ अस्पताल शिलान्यास भएको कुराले, १ सय ६४ वटा निर्वाचन क्षेत्रसँग सम्बन्धित सडकहरू रणनैतिक सडकको रुपमा शिलान्यास हुँदा किन टाउको दुख्दै छ? एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर एउटा सडक प्रस्तुत गर्छ। मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ भन्नुहोस्,’ सांसद बस्नेतले भने।
मेलम्ची, धरहरालगायत निर्माण आयोजनाको फेहरिस्त दिँदै उनले सरकारले वैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी पनि गरे।