काठमाडौं, २७ चैत : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले कलकत्ता, इन्डियाको जेलमा बिना सुनुवाइ ४१ वर्ष थुनामा परेर करिब ३ हप्ता अघि मुक्त भएका दुर्गाप्रसाद तिम्सिनाको इलाम, लुम्बाकस्थित घरमै पुगेर उनलाई भेटी पाँच हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।
केही व्यक्ति र संस्थाले सहयोग गर्ने भने पनि हालसम्म सहयोग गरेको नदेखिएकाले उनलाई सबै नेपालीले सहयोग गरून् भनि आफूले सांकेतिक रूपमा थोरै रकम पाँच हजार रुपैयाँ दिएको भनि अध्यक्ष नेपालले समाचार दातालाई बताएका छन् । मोर्चाले स्थलगत अध्ययन प्रतिवेदन गृहमन्त्री र राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाउने अध्यक्ष नेपालले जनाएका छन् ।
मोर्चाका अध्यक्ष नेपालले एउटा निर्दोष नेपालीलाई ४१ वर्षसम्म जेलमा कठोर यातना दिएर राख्नु सोच्नै नसकिने घटना भएको बताउँदै उनले दुर्गाप्रसाद तिम्सिनामाथी भएको ज्यादती उजागर गरेर इन्डियाली जेलमा सुधार ल्याउन दबाब दिने उद्देश्यले आफू उनको शारीरिक तथा मानसिक अवस्था बुझ्न उनलाई घरमै भेट्न गएको बताएका छन् ।