अविश्वासको प्रस्ताव आउने डरले रातारात प्रदेशसभा अधिवेशन अन्त्य गरिएको हो ?

admin

काठमाडौं, २ बैशाख : मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकी प्रदेशको प्रदेशसभा अधिवेशन रातारात अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका छन् । बुधबार राष्ट्रिय जनमोर्चाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि सरकार अल्पमतमा परेको थियो ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी रहेकामा मध्यरातमै अधिवेशन अन्त्य गरिएको हो । ६० जना प्रदेश सांसद रहेको गण्डकीमा एमाले र जनमोर्चाको सरकार थियो । तर तीन जना सांसद रहेको जनमोर्चाले समर्थन फिर्ता लिएसँगै २८ जना सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ ।

गण्डकीमा माओवादी, कांग्रेस, जसपा र जनमोर्चाले सरकार बनाउने तयारी गरेका बेला प्रदेशसभाको अधिवेशन नै अन्त्य भएको छ । आफ्नो सरकार ढल्ने डरले रातारात प्रदेशसभाको अधिवेशन गरेको भन्दै विपक्षी दलले मुख्यमन्त्री र एमालेको आलोचना गरेका छन् । उनीहरुले सरकारको निर्णयलाई बेइमानीको संज्ञा दिएका छन् ।

प्रतिक्रिया