कम्युनिस्ट धर्म-संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो : दाहाल

admin

चितवन, ५ बैशाख : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टले नागरिकको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने बताएका छन् । माडीको अयोध्यापुरीमा मन्दिरलगायत संरचना बन्दै गरेको ठाउँको आइतबार निरीक्षणपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कम्युनिस्ट धर्म-संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ नागरिकको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्द्धनमार्फत नागरिकको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिस्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उनले जिकिर गरे ।

यस्ता विषय निकै संवेदनशील हुने भएकाले नागरिकको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने उहाँको सुझाव थियो । सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढङ्गले लिनुपर्ने दाहालले बताए ।

आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको जनाउँदै दाहालले भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’ यसले धार्मिक प्रवर्द्धन मात्रै नभइ धार्मिक पर्यटन प्रवर्द्धन गर्नाका साथै नागरिकको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए । यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रामाणिकता दिन पुरातत्त्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

उनले थपे, ‘अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ ।’ यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिङ्गो देशका लागि गौरवको विषय हुने उनको भनाइ थियो । माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने दाहालले बताएका छन् ।

माडी चितवनको क्षेत्र नम्बर ३ मा पर्दछ । त्यही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् । माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति यही बैशाख ९ गते राखिने भएको छ । मूर्ति राख्नका लागि निर्माण कार्य धमाधम भइरहेको छ । माडीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दाहालले यस क्षेत्रको निरीक्षण गरेका हुन् ।

प्रतिक्रिया