काठमाडौं, ५ बैशाख : भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन्।
भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किएका हुन्। उनको स्वागतमा समर्थकहरू त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए।
राप्रपा नेपालको नाममा ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानरलगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्न समर्थक विमानस्थल पुगेका थिए।
विमानस्थलबाट बाहिरिए लगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए। हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’लगायत नारासमेत लगाएका थिए।