प्रधानमन्त्रीले आफ्नो खुट्टामा आफैले बन्चरो हानेका छन्, तुरुन्तै एमाले पार्टीबाट निष्कासित गरियोस् : नेता रिजाल

admin

काठमाडौं, ६ बैशाख : नेकपा एमालेका नेता रामप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनेश्याम भुसाललाई गरेको कारवाही पार्टीको विधान विपरीत र अलोकतांत्रिक भएको बताएका छन् । नेता रिजालले ओलीले गरेका सबै निर्णयहरु पार्टीको विधान विपरीत भएको बताए ।

नेता रिजालले भने, ‘ओली अहिले एमाले अध्यक्ष हैनन ओली गुटको मात्र अध्यक्ष हुन्, ओलीले विधान विपरीत एक पक्ष अलोकतान्त्रिक निर्णय गरेर आफ्नो खुट्टामा आफैले बन्चरो हानेका छन् ।’ प्रधानमन्त्री ओली प्रति कटाक्ष गर्दै उनले भने, ‘देश रुदा हास्ने उखान टुक्का सुनाउँदै मज्जा लिदै हिड्ने हास्य कलाकार जस्तो आचरण देखाउने, प्रधानमन्त्रीको कुर्सीमा सुतेर बस्ने देश र जनताको लागि सिन्को पनि नभाच्ने ओली राष्ट्रघाटी प्रतिगामी प्रवृत्तिको मान्छे हुन भन्ने सबैले बुझिसकेका छन् ।’

उनले ओलीले संसद विघटन गरे, प्रधानमन्त्री बन्न एमालेको जबजलाई साटेर माओवादी केन्द्रसँग एकता गरेर पुनः हिजो आफैले एकता गरेको नेकपा पार्टीलाई समेत विघटन गरेको जस्ता आरोप लगाए । उनले भने, ‘एमालेलाई विघटन गर्ने दिशामा ओली लागे त्यसैले ओलीको भस्मासुर प्रवृत्तिको सबैले शशक्त प्रतिकार गरौं ।’

ओलीलाई प्रधानमन्त्री र एमालेको अध्यक्षबाट हटाई कम्युनिस्ट आंदोलनलाई बचाऔं भन्दै नेता रिजालले संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन ओलीशैली देश बर्बादी तिर लाने बताए । उनले भने, ‘पार्टीको अध्यक्ष भएर पार्टीको अभिभावक भएर पार्टीलाई जोगाउन बचाउन भन्दा आफ्नै पार्टीको ह’त्या गर्ने ओलीलाई तुरुन्तै एमाले पार्टीबाट निष्कासित गरियोस् ।’

अहिलेको निकास प्रधानमन्त्री ओलीले राजीनामा गरेको अवस्थामा कमरेड माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाई वामएकता कायम गरी एमाले पार्टीलाई पनि एकताबद्ध बनाउने नै भएको नेता रिजालले बताए । एमाले पार्टीलाई कमिटी प्रणाली अनुसार बढाए एमाले सग्लो रहन्छ भन्दै नेता रिजालले ओलीको तानाशाही प्रवृत्ति सहेर एमाले पार्टीलाई एकीकृत रुपमा अगाडि बढाउन नसकिने उल्लेख गरे ।

उनले भने, ‘ओली गुटले माधव नेपाल पक्षलाई अवैधानिक तवरले पदबाट हटाएका छन् । त्यो फिर्ता लिई एमाले २०७५ जेठ २ तिरको अवस्थामा फर्काएर पार्टीको विधिःविधानको आधारमा अघि बढाउनुपर्छ ।’ 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू