वायु प्रदूषण कम हुँदै गएपनि स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने

admin

काठमाडौं, ७ बैशाख : नेपालको वायु प्रदूषण विश्वभरको तुलनामा कम हुँदै गएको छ । केही दिनअघि काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।

केही दिनअघि काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको थियो । काठमाडौंसहित देशका धेरैजसो ठाउँमा प्रदूषण कम भएको भए पनि नेपालका केही ठाउँहरु अझै प्रदूषित देखिएका छन् । अतिहानिकारक अवस्था नरहेको तर केही ठाउँमा प्रदूषण भने कायमै रहेको वातावरणविद्हरुले बताएका छन् ।

धनगढी, हेटौँडालगायत ठाउँको प्रदूषण मापन गर्ने एक्यूआई अहिले पनि १ सयभन्दा धेरै रहेको छ । काठमाण्डौसहितका सहरको वायु प्रदूषण घटे पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।

यसैबीच, मंगलबार पनि दिउँसोपछि केही पहाडी जिल्लामा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुसमान महाशाखाले जनाएको छ ।

दिउँसोपछि पश्चिमी क्षेत्रमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले जनाएको छ । मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर बाँकी ठाउँको मौसम आंशिक बद्ली रहने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया