धाक र धम्की दिँदैमा देशभक्तिको झण्डा झुक्दैन् : भीम रावल

admin

काठमाडौं, ७ बैशाख : नेकपा (एमाले)का नेता तथा सांसद डा. भीम बहादुर रावलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोमबार बोलाएको महाधिवेशन आयोजक कमिटी बैठक अवैध बैठकको संज्ञा दिएका छन् । त्यसैले आफूहरुले उक्त बैठकमा भाग नलिएको उनले स्पष्ट पारे । सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ सम्पादित अंश :-

बालुवाटावरमा बस्ने महाधिवेशन मूल आयोजक कमिटीको बैठकमा किन नजानुभएको ?

नवौँ महाधिवेशनको विधान मिचेर केपी शर्मा ओलीले आफैँलाई कथित स्वघोषित महाधिवेशन आयोजक समिति गठन गरेर यस्तो बैठक भनेकोले यो अबैध छ । अबैध बैठकमा भाग लिने भनेको नेकपा एमालेको एकता र सिद्धान्तमाथि प्रहार गरेको ठहरिने हुनाले कोही पनि नेकपा एमालेप्रति प्रतिबद्ध, नवौँ महाधिवेशनको विधान र सिद्धान्त मान्ने व्यक्तिले त्यो बैठकमा भाग लिन मिल्दैन । त्यो अवैध बैठक हो ।

कसरी अवैध बैठक हो ? पार्टी अध्यक्षले बैठक बोलाउन मिल्दैन र ?

नेकपा एमालेको नवौँ महाधिवेसनबाट पारित विधानको धारा १३ हेर्नुभयो भने त्यो धारा १३ मा के लेखिएको छ भने–राष्ट्रिय महाधिवेसनबाट केन्द्रीय कमिटीको निर्वाचन हुनेछ । राष्ट्रिय महाधिवेसनको आयोजना प्रत्येक पाँच वर्षमा गर्नेछ भन्ने स्पष्ट व्यवस्था छ । पार्टीको विधान संसोधन गर्ने अधिकार केपी शर्मा ओलीजीलाई छैन । त्यो अधिकार त राष्ट्रिय महाधिवेसनलाई हुन्छ । त्यो विधान महाधिवेसनलाई हुन्छ । यसरी पार्टीको विधान मिचेर गठित गरिएको कथित राष्ट्रिय महाधिवेसन समितिको उहाँ स्वघोषित अध्यक्ष हुनुभएको छ । उहाँ अबैध अध्यक्ष हो । अबैध अध्यक्षले बोलाएको बैठक अबैध हुन्छ । अबैध बैठकमा भाग लिन जाने सबै क्रियाकलाप अबैध ठहरिन्छ । त्यसकारण त्यो बैठक सम्पुर्ण नवौँ राष्ट्रिय महाधिवेसनका माननीय सदस्यहरुले बहिस्कार गर्नुपर्छ । त्यसको विरोध गर्नुपर्छ ।

तपाईंहरुले बैठकमा सहभागी नहुने भनिसकेपछि तपाईंहरुलाई त कारबाही होला नि त धमाधम ? तपाईंहरुलाई त गाह्रो र अप्ठ्यारो पर्यो नि ?

केही पनि गाह्रो अप्ठयारो परेको छैन । देशलाई परेको छ गाह्रो र अप्ठ्यारो । केपी शर्मा ओलीले देशलाई गाह्रो अप्ठ्यारे पार्नुभएको छ । उहाँ अहिले देशलाई स्वाधिनतालाई मिच्ने नेपालको भूमिलाई विदेशीको कब्र्जामा पुर्याउने, नेपालको कानूनमाथि विदेशी कानुनलाई हावी गर्ने । बौद्धिक सम्पतिमा कुनै अधिकार नहुने, हिन्द प्रशान्त रणनीतिकोबारे नेपाललाई धकलेर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने । त्यो काममा स्वयम प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी पारित गर्नुपर्छ भनेर लागिरहनुभएको छ । नेपालको संविधानमा उल्लेखित कर्तव्यअनुसार नेकपाको विधानअनुसार नेकपाको स्वाधिनताको झन्डाअनुसार हामीले आफनो राष्ट्रियताको पक्षमा उभिनु कर्तव्य हो । त्यसकारण केपी शर्मा आलीले गरेका यी राष्ट्रको हितविपरितका कामहरुको विरुद्ध उभिनु भनेको अप्ठ्यारो पर्नु होईन देशलाई बचाउनु हो । राष्ट्रलाई बचाउनु हो ।

भीम रावलजी, एमसीसी पारित गर्ने प्रधानमन्त्रीको तयारी छ । तपाईंहरुको विरोधको पनि कुनै तुक छैन ? शेरबहादुर देउवा र म मिलेर जसरीपनि पारित गछौँ र बहुमत छ भनेर उहाँले भन्नुभएको छ नि ?

दासढुड्ढामा जतिबेला मदन भण्डारीको हत्या गरिएको थियो । कतिपय अहिले सुतेका थिए, अब देशभक्तिको झण्डा नेपालमा सँधैको लागि झुकेर जान्छ । मातृभूमि नेपालमाथि बाहृय बुट बजारिँदा पनि बोल्ने व्यक्ति कोही हुनेछैन । त्यो सपना कतिपयले देखेका थिए । तर देशभक्तिको त्यो झण्डा झुकेको छैन । कालापानी, लिपुलेकमा गरिएको अतिक्रमणको विरुद्धमा देशभक्त नेपालीहरुको आवाज निरन्तर छ । त्यसकारण केपी शर्मा ओलीजीले कसैको सांसद पद जान्छ भनेर धाक र धम्की दिएर देशभक्तिको झण्डा झुक्दैन । मलाई पुरा विश्वास छ । देशभक्त नेपालीहरु उठ्नेछन । देशको स्वाभिमानको रक्षा गर्ने छन । देशको शीर झुक्न दिनेछैनन् । कुनै पनि देशद्रोही व्यक्तिहरु ईतिहासमा कलंकित भएर जानेछन् ।

तपाईंले एमसीसी पहिलेदेखि नै पारित नगर्ने भनिरहँदा पनि प्रधानमन्त्रीको चाहना त पास गर्ने छ । यो एमसीसी देशको पक्षमा छ किन पारित नगर्ने भनेर प्रधानमन्त्रीले तपाईँहरुलाई चेतावनी दिनुभएको छ । एमसीसीको विपक्षमा जानेलाई कारबाही गर्छौं पनि भन्नुभएको छ नि ? सभामुखलाई उहाँले धम्की दिईसक्नुभयो नि ?

हाम्रो पार्टीको विधानमा सपथग्रहण भन्ने त्यहाँ उल्लेख छ, त्यसमा के लेखिएको छ भने म अवसरवादकोविरुद्ध, प्रतिक्रियावादको विरुद्ध, साम्राज्यवादको विरुद्ध लडिरहनेछु । र, यसको प्रस्तावनामा लेखिएको छ–नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता र राष्ट्रिय स्वाभिमानको पक्षमा पार्टी दृढतापूर्वक काम गर्नेछ । केपी शर्मा ओलीले आफ्नै गुटले त्यसलाई कुल्चिने प्रयास गर्दै हुनुहुन्छ । त्यो प्रस्तावनालाई उहाँले रड्डीको टोकरीमा हाल्ने दुस्प्रयास गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया