विद्यार्थी र प्रहरीबीच झडप, नाै जना घाइते

admin

सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरी नौ जना घाइते भएका छन् । हरिपूर्वा नगरपालिका ५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थी र प्रहरीबीचको झडपमा मङ्गलवार सात विद्यार्थी र दुई प्रहरी घाइते भएका हुन् ।

घाइते हुने विद्यार्थीहरूमा सुजितकुमार यादव, ललित मण्डललगायत छन् भने प्रहरीतर्फ जवान विनयकुमार यादव र दिलीपनारायण यादव घाइते भएका छन् । घाइते विद्यार्थी र प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण गिरीले जानकारी दिनुभयो ।

प्राविधिकतर्फका शिक्षक नियुक्ति गर्दा राजनीतिक दबाबको आधारमा नियुक्ति गरेको भन्दै नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएकाे हाे । प्रहरीले लाठीचार्ज गरेपछि दोहोरो झडप भएको स्थानीयवासीले बताएका छन् ।

आक्रोशित विद्यार्थीले नगरपालिकाको कार्यालय र हरिपूर्वा प्रहरी चौकीमा समेत तोडफोड गरेका छन् । उनीहरूले नगरपालिकाको कार्यालयमा रहेको दराज, टेबुल, सोफा, सीसीटीभी, ल्यापटप र कागजपत्रमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ । तोडफोडमा उत्रिएका ६ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यालयले गएकाे हप्ता सीटीईभीटी अन्तर्गत सिभिल इन्जिनियरतर्फ अध्यापनका लागि दुई जना प्रविधिक शिक्षक र दुई जना सहायक प्रविधिक शिक्षक गरी चार जना प्रविधिक शिक्षक नियुक्त गरेपछि विवाद सुरु भएको थियो ।

प्रविधिक शिक्षक नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थीले एक हप्तादेखि विद्यालयमा तालाबन्दी जारी राखेका थिए । दुई वर्षदेखि अध्यापन गराउँदै आउनुभएका प्रविधिक शिक्षक पवन रायलाई नियुक्त नगरी अन्य शिक्षक नियुक्त गरिएको भन्दै विद्यार्थी आक्रोशित भएका हुन् ।

प्रतिक्रिया