नयाँ सत्तासमीकरण बनाउन माओवादी केन्द्रले वार्ता शुरू गर्ने

admin

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता दिने र एउटा निर्णय लिने निष्कर्षमा पार्टी पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

वर्तमान सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेकाले ओलीलाई सरकारबाट हटाउनुको बिकल्प नभएको माओवादीको ठहर छ ।

बैठकले प्रतिनिधिसभाको‌ अधिवेशन प्रभावकारीमूलक बनाउनु पर्ने परिस्थितिमा अन्त्य गर्नु सरकारको स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको निष्कर्ष निकाल्दै भर्त्सनासमेत गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको भन्दै पार्टी पंक्तिलाई कोरोनाबारे जनचेताना फैलाउन र सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता, बिभिन्न जिम्मेवारीमा रहेका सदस्यहरुको रिपोटिङ, पार्टीको बिधान संशोधन र आगामी केन्द्रीय कमिटीको तयारी लगाएतका कार्यसूची तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष प्रचण्डले सरकार गठन गर्न दलहरुसँग भएको छलफल सकारात्मक रहेको र एकदुईदिनमा नै टुंगोमा पुगिने जानकारी गराउनुभएको थियो ।

उहाले संवैधानिक निर्वाचन हुन्छ भने त्यो निर्वाचनको सामना गर्न तयार रहेको पनि बताउनुभएको थियो । थप एजेन्डामाथि भोलि बुधबार १ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया