आज पनि बस्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक

admin

काठमाडौं, ८ बैशाख : बुधबार पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । (हिजो) मंगलबारदेखि सुरु भएको बैठक बुधबार दिउँसो १ बजेदेखि सुरु हुने माओवादीका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ ।

यस्तै स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने माओवादीका नेताहरुले बताएका छन् । बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थनलगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । नयाँ सत्ता गठबन्धनको कसरतमा रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।

अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक गर्ने भन्दै माओवादी केन्द्रले नयाँ सत्ता गठबन्धनबारे नेपाली कांग्रेस र जसपाका नेताहरुसँग छलफल गर्दै आइरहेको छ । नयाँ सत्ता समीकरणले कांग्रेसले आफ्नो नेतृत्व मान्न प्रस्ताव गरिसकेको छ । जसपाले उचित निर्णय दिन नसक्दा नयाँ सत्ता समीकरण अन्यौलमा परिरहेको छ । यसबारे पनि आजको बैठकमा छलफल हुने माओवादी नेतृ पम्फा भुषालले जानकारी दिइन् ।

प्रतिक्रिया