प्राधिकरण स्थापना भएदेखि अहिलेसम्म पूनर्निर्माण तथा पूनस्थापना कार्यमा सन्तोषजनक

admin

काठमाडौं, १० बैशाख : राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले कोभिड-१९ का कारण सिर्जित जोखिमहरुको व्यवस्थापन गर्दै पूनर्निर्माण तथा पुनस्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको दावी गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले स्थापना भएदेखि अहिलेसम्म पूनर्निर्माण तथा पूनस्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको जनाएको हो ।

पूनर्निर्माण र पुनस्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८,११,७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७,५३,१०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ ।

यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका ४,७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२,७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

क्षतिगस्त ९२० सम्पदामध्ये ४९३ वटाको पूनर्निर्माण सम्पन्न गरेका र २८८ वटा पुनर्निर्माण भइरहेको पनि प्राधिकरणले जनाएको छ । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त कुल ७,५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको र १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेको ज्ञवालीले बताए । पुनर्निर्माणका लागि भएको दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ सय १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएका ज्ञवालीले बताए ।

पूनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पूनर्निर्माण तथा पुनस्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैंया हो । यसमध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायहरुको समेत गरी २०७७ चैत्र मसान्त कूल ३ खर्ब ५७ अर्ब रुपैँया खर्च भैसकेको प्राधिकरणले जनाएको छ ।

२०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु पारेर गएको विनाशकारी भूकम्पको ६ वर्ष पूरा हुन लागेको अवसरमा प्राधिकरणले पत्रकार सम्मेलन गरी पूननिर्माणको अवसथका बारेमा जानकारी गराएको हो । भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको पूनर्निर्माण र पुनस्थापनाको उद्देश्यसहित २०७२ पौष १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो ।

प्रतिक्रिया