तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ : परराष्ट्र मन्त्री ज्ञवाली

admin

काठमाडौं, १२ बैशाख : सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आयोजनक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकार प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताएका हुन् । मन्त्री ज्ञवालीले कोरोनाको संक्रमण बढेका ठाउँमा लकडाउन हुने तर देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नभएको बताएका हुन् ।

उनले भने, ‘तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ, सबै नागरिकहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हाम्रो आग्रह छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक हुन्छ तर त्यो अन्तिम समाधान होइन ।’ भर्खर भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेको अवस्थामा सकभर अर्थतन्त्रमा, नागरिकको जीविकामा प्रतिकूल असर नपुगोस भन्ने सरकारको चाहना रहेको उनले बताए । ‘हटस्पट ठाउँहरुमा लकडाउन हुन सक्छ तर त्यो स्थानीयस्तरमा मात्रै देशव्यापी लकडाउन चाहिँ सरकारले गर्दैन ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि माधव नेपालसहित २७ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल भएको हो । प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र उक्त प्रस्ताव पास गराउन माधव नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गर्नेबारे अध्ययन भैरहेकोबारे बैठकमा छलफल भएको जनाए ।

उनले माधव नेपाल पक्षधर सांसदहरुलाई यसअघि सोधिएको स्पष्टीकरणको जवाफबारे पनि आज समिक्षा भएको सनुाएका थिए । र, अब कारवाही प्रक्रिया कसरी अघि बढाउने र कति जना सांसदलाई कारबाही गर्ने भन्नेबारे लिष्ट तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको पनि ज्ञवालीले जनाए ।

साथै बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ । आयोजक कमिटी सदस्यको बैठकले पालिका र जिल्लामा रहेका समितिसँग सहकार्य गरेर पार्टी पङ्क्तिलाई परिचालित हुने निर्देशन दिएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया