काठमाडौं उपत्यकासहित नौं जिल्लामा निषेधाज्ञा हुन सक्ने सङ्केत

admin

काठमाडौं, १३ बैशाख : कोरोना भाइरस कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेसँगै काठमाडौं उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञा हुन सक्ने सङ्केत देखिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या ६ हजार पाँच सय छ ।

त्यसपछि बाँकेमा २ हजार ३ सय ३९ जना सक्रिय संक्रमित छन् । ललितपुरमा १ हजार ३ सय १५, रुपन्देहीमा १ हजार ३ सय १३, मोरङमा पाँच सय ६१, पर्सामा ६ सय ४३, भक्तपुर र कास्कीमा ६ सय १३ तथा दाङमा ५ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । सीसीएमसीले पहाडी जिल्लाहरुमा भने सक्रिय संक्रमित २ सय कट्नासाथ निषेधाज्ञा लगाउन पालिकालाई अधिकार दिएको छ ।

प्रतिक्रिया