कसैले पनि लापर्बाही नगरिदिनुस् सरकारले कोरोनाविरुद्धको लडाइँ जित्न चाहेको छ : अर्थमन्त्री

admin

काठमाडौं, १३ बैशाख : अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको बताएका छन् । सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थ मन्त्री पौडेलले नेपालमा कोभिड-१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए । जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि मन्त्री पौडेलको भनाइ छ ।

उनले भने, ‘कोभिडको दोस्रो लहर दुनियाँकै सामुन्नेमा चुनौतीको रूपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको छ । अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला देशका सामुन्नेमा सर्वाधिक प्राथमिकताको र सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौँ ।’

अर्थ मन्त्री पौडेलले कसैले पनि लापर्बाही गर्न नहुने बताए । सरकारले सबै प्रकारका सम्भाव्य उपाय अवलम्बन गरेर कोभिडविरुद्धको लडाइँलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै सङ्घ–संस्थाको सहयोग आवश्यक पर्ने बताए । संक्रमण विश्वव्यापी रूपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको उनको भनाइ छ । अर्थ मन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको समस्या समाधानको सम्बन्धमा आएका सुझावमध्ये आउँदो आर्थिक वर्षको बजेट निर्माण गर्दा जायज र सम्भव भएका सुझावलाई ग्रहण गरिने पनि बताए ।

प्रतिक्रिया