ओपीडी सेवा बन्द गर्न अस्पताललाई निर्देशन

admin

काठमाडौं, १४ बैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शय्या (बेड) को अवस्था हेरेर बहिरङ्ग सेवा (ओपीडी) तथा इलेक्टिभ सर्जरी लगायतका सेवा बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले कोरोना सङ्क्रमितको प्रभावकारी उपचार व्यवस्थापनका लागि आवश्यकताअनुसार ओपीडी र शल्यक्रिया सेवा बन्द गर्न निर्देशन दिएको हो ।

अस्पतालको उपलब्ध शय्या, जनशक्ति, कोरोना संक्रमितको संख्याका आधारमा आकस्मिक बाहेकका सेवा बन्द गर्न मन्त्रालयले भनेको छ । बैठकले कुनै पनि डाक्टर तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने तथा यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न पनि सबै अस्पताललाई निर्देशन दिएको छ । यस्तै बैठकले सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया