थापाथली प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनको भिड

राष्ट्रिय समाचार समिति

काठमाडौं, १५ बैशाख : थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डल्लुका सुरेश बोगटी कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनका लागि बिहान ६ बजे पुगे । उनी पुग्दा टोकन लिनेको भिड थियो । बिहान ७ बजेदेखि बाँडिएको टोकन केहीबेरमा नै सकियो । बिहान साढे ७ बजे कुपन लिएका उनको पालो ११ बजे मात्र आएको थियो । ‘म पुगेको एक घण्टापछि खोपका लागि टोकन बाँड्न सुरु गरिएको थियो’, उनले भने, ‘मैले त्यही लाइनमा बसेर टोकन लिएँ । मेरो टोकन नं ५२१ थियो, बिहान ११ बजेतिर खोप लगाउन पालो आयो ।’

प्रसूति अस्पतालमा टोकनअनुसार पालो आएकालाई प्रहरीले खोप लगाउनका लागि पठाउने गरेको छ । बोगटीजस्ता मानिसहरू खोप लगाउनका लागि अहिले बिहानै काठमाडौं उपत्यकाका ११ खोप केन्द्रमा जाने गरेका छन् । खोप लगाउनका लागि बिहान गए मात्र पालो पाइने भएकाले मानिस सबेरै उठेर जाने गर्छन् । अहिले निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको भिड छ ।

सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका सबैलाई खोप लगाउन थालेपछि अहिले भिड भएको हो । यस्तै प्रसूतिमै बिहान ७ बजे खोप लगाउन आएका ललितपुर च्यासलका दीपेश शाक्यको पालो साढे ११ बजे मात्र आयो । बिहान टोकन लिएर उनी १० बजेमात्र खोप लगाउन आए । प्रसूति अस्पतालले खोप लगाउन आउने व्यक्तिको भिड भएपछि मंगलबारदेखि टोकन प्रणाली सुरु गरेको हो । बिहान एक घण्टा टोकन बाँड्ने गरिन्छ । टोकन लिनेले आफ्नो पालोअनुसार गएर खोप लगाउने गर्छन् ।

सरकारले यही बैशाख १२ गतेदेखि कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’ लगाउन सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अहिलेसम्म एक लाख ४१ हजारले खोप लगाइसकेका छन् । संक्रमण बढ्न थालेपछि अहिले कोभिड-१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउनेको पनि भिड देखिएको छ । ‘खोप लगाएपछि कतै पनि असर नहुने भएपछि खोप लगाउने मानिसमा उत्साह भएको छ’, उनले भने, ‘बिहानैदेखि मानिस खोप लगाउनका लागि खोप केन्द्र आउने गर्दछन् ।’

उनले खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लाम लागेका सबैलाई लगाउन भनिएको जानकारी दिए । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ आठ लाख मात्रामध्ये चार लाख मात्रा पहिलो चरणमा दिइने छ । यसअघि पहिलो मात्रा एक लाख २३ हजारलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया