कर्णाली प्रदेशका तीन मन्त्रीद्वारा पुनः शपथ

admin

सुर्खेत, १५ बैशाख : कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथ ग्रहण गरेका छन् । तीनै जनालाई बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् । यही बैशाख ३ गते बसेको प्रदेश सभा बैठकमा नेकपा एमालेको निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तीन मन्त्रीले विश्वासको मत दिएका थिए ।

उनीहरूलाई मुख्यमन्त्री शाहीले बैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उनीहरूले बैशाख ५ गते प्रदेश प्रमुख कलौनी समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । पार्टी निर्देशन विपरीत ‘फ्लोर क्रस’ गरेको आरोप लगाउँदै एमाले प्रदेश सभा दलले तीनै जनालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेश सभा सचिवालयलाई गरेको थियो ।

त्यहीअनुसार बैशाख १२ गते बसेको कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरू पदमुक्त भएको जानकारी दिएका थिए । पदमुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बुधबार फेरि प्रदेश प्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटन मन्त्री बुढालाई फेरि त्यही मन्त्रालय दिइएको छ । पर्यटन मन्त्री बुढाले उद्योग मन्त्रीका रूपमा यससँगै तीन पटक पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया