दुई सांसद हराउँदा विपक्षीमा हल्लीखल्ली, गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुन सकेन

admin

कास्की, १५ बैशाख : गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि भएको बैठकमा दुईजना सांसदहरु अनुपस्थित भएपछि विपक्षी दलमा हल्लीखल्ली मच्चिएको छ । दुई सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुन सकेको छैन ।

विपक्षीतर्फका दुई सांसदहरु अनुपस्थित देखेपछि सत्तापक्षमा भने सरकार जोगिने भयो भन्दै खुसीयाली देखियो । प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित थिए । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा परेनन् ।

शाहीले बिरामी भएको जनाउ दिएको र फोन समेत नलागेको स्रोतले बताएको छ । बैठकमा जनमोर्चाका सांसद शाही नआएपछि कांग्रेस नेताहरुले राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा फोन गरेर चासो राखेको बुझिएको छ । गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् ।

यीमध्ये कांग्रेसका १५ माओवादीका ११ र जसपाका २ समेत गरी २८ जनाले दर्ता गरेको अविश्वासको प्रस्ताव माथि केहीबेरमा मतदान हुँदैछ । अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । तीन सांसद रहेको जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर, तीनमध्ये खिमविक्रम शाहीले मतदान गरेनन् भने अविश्वासको प्रस्तावको पक्षमा ३० मत मात्रै पर्छ ।

अविश्वासको प्रस्तावको पक्षमा ३० मतमात्रै परेको अवस्थामा पक्ष विपक्षमा बराबरी हुन जान्छ र त्यस्तो अवस्थामा सभामुखले नेत्रनाथ अधिकारीले निर्णायक मत दिन पाउँछन्, जो माओवादीकै सांसद हुन् । यसैबीच जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले भने अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टीको निर्णय रहेको बताए । गण्डकीमा आफ्ना सांसदले ह्विप उल्लंघन नगर्ने उनले दाबीसमेत गरे ।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेको छ, जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन जना सांसद छन् । चार दल मिलेर ३१ जना पुगेपछि नयाँ सरकार गठनका लागि मुख्यमन्त्री  गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रतिक्रिया